pokhara news

वालिङका नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम

वालिङ,चैत २६ गते ।  
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भएको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । 
नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलका क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषकसम्म पुगेको जानकारी गराइएको हो । 
नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यमशीलतामा जोड्ने योजनासहित सुरु गरिएको परियोजना अन्तर्गत अहिलेसम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । 
साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । 
समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनु भयो । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको उहाँले उल्लेख गर्नुभयो । 
साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल  र सक्षम हुने नगरप्रमुख खांणको भनाई छ । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताउनु भयो । 
कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताउनु भयो ।
सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल, भीमबहादुर गुरुङ, छबि आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापालगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उहाँहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नुपर्नेमा वडा अध्यक्षहरुको भनाई छ । 
कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । छलफलमा कार्यपालिका सदस्यहरु,विभिन्न शाखाको प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 
सो अवसर चालु आर्थिक बर्ष २०८१÷८२ को फागुन सम्ममा गरिएका क्रियाकलापको बारेमा परियोजनाका संयोजक डुम्रेले जानकारी दिनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर