pokhara news

वालिङका युवाहरु पर्यावरण जोगाउन वृक्षारोपणमा जुटे

असार २९, स्याङ्जा
स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरमा पर्यावरण जोगाउन युवाहरु वृक्षारोपणमा जुटेका छन् । वालिङ ८ का युवाहरुले सुन्दरता र पर्यावरण जोगाइराख्नका लागि भनेर आज शनिबार वृक्षारोपणमा जुटेका हुन् । नवप्रभात युवा क्लव ८ नम्बर वडाका युवाहरुद्वारा डुम्रिबोटदेखि पूर्व भित्री सडकको दायाँ बायाँ नेपाल आदर्श विद्यालयसम्म वृक्षारोपण अगाडि बढाइएको छ । युवाहरुद्वारा अशोका, गुलमोहर, कपुर, दालचिनी, टिमूरलगायतका बिरुवा रोपण गरिएको हो । आज शनिबार विदाको दिनको उपयोग गर्दै आयोजक क्लवका युवाहरुको अगुवाईमा ढावखोला क्षेत्रका युवा एवम् समाजसेवीहरुको सहभागितामा बिरुवा लगाउने काम सुरु गरिएको हो ।
वालिङ नगरलाई सुन्दरतासँगै पर्यावरण जोगाइराख्नका लागि वृक्षारोपण गरिएको आयोजक नवप्रभात युवा क्लवका अध्यक्ष जीवलाल काफ्लेले जानकारी गराउनुभयो । सिद्धार्थ राजमार्गसँग जोडिएको ८ नम्वर वडाको डुम्रिबोटदेखि पूर्व भित्री सडक क्षेत्रमा वृक्षारोपण गरिने अध्यक्ष काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेका अनुसार यो सडकको दायाँ बायाँ १ हजार दुई सय बिरुवा लगाइने छ । यसैगरी नजिकै सशस्त्र प्रहरी क्याम्प जाने बाटोमा पर्ने श्रवणकुमार पार्कमा ८ सय बिरुवा रोपण गरिने छ । योसँगै यो वर्ष बिभिन्न जातका गरी दुई हजार बिरुवा लगाइने क्लवले जनाएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जाले वृक्षारोपणका लागि बिरुवा उपलव्ध गराएको हो । वृक्षारोपण कार्यक्रमका लागि ८ नम्वर वडाले समन्वय गरेको छ भने वालिङ प्रोडक्ट होल्डिङले गड्यौले मल उपलव्ध गराएको छ । रोपण गरिएका बिरुवाको संरक्षणका लागि नेपाल आदर्श आवासीय माध्यमिक विद्यालयले तारजालीको व्यवस्थापन गर्ने क्लवका सचिव सुदन सुवेदीले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर