pokhara news

वालिङमा आमा नृत्य प्रतियोगिता हुने

भदौ—११, स्याङ्जा ।
स्याङ्जाको वालिङमा आमा नृत्य प्रतियोगिता हुने भएको छ । हरितालिका (तीज) को अवसरमा यही भाद्र १५ गते सप्तक संगित सांस्कृतिक केन्द्र वालिङको आयोजनामा खुल्ला आमा नृत्य प्रतियोगिता हुने भएको हो । यस अवसरमा तीजको सामुहिक दर खाने तथा आमा नृत्य प्रतियोगिताको आयोजना गरिएको केन्द्रका सञ्चालक देवराज गैह्रेले जानकारी गराउनुभयो । प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीयले ५ हजार र तृतीय हुनेले ३ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
तीजका गीतमा मात्र नृत्य गर्न सकिने र भड्किलो नृत्यलाई प्रतियोगितामा सहभागी नगराईने सञ्चालक गैह्रेले बताउनुभयो । गैह्रेले भन्नुभयो, “विभिन्न समय र स्थानहरुमा नृत्य प्रतियोगिता सञ्चालन गरिएका हुन्छन् । यस्ता कार्यक्रममा भर्खरका प्रतिभावान छोरीहरुले स्थान पाएका देखिन्छन् । तर आमा बनिसकेकाहरुलाई प्रोत्साहन हुने खालका प्रतियोगिताहरु भएका छैनन् । त्यसकारण हामीले आमाहरुलाई प्राथामिकतामा राखेका हौँ ।”
यही भाद्र १३ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने प्रतियोगितामा ३० जनाभन्दा धेरैको सहभागिता हुने अनुमान गरिएको सञ्चालक गैह्रेले बताउनुभयो । प्रतियोगितामा कुनै छनौट चरण नहुँने भएकाले नाम दर्ता गराउनुभएकाहरुले आफ्नो नृत्य प्रस्तुत गर्न पाउनेछन् र निर्णायकले विजेता उपविजेता छान्नेछन् । प्रतियोगिता एकल हुनेछ । आमा भैसकेपछि पनि आँफूभित्रको प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्दै आमाहरुलाई पनि सङ्गीतको क्षेत्रमा अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको संचालक गैह्रेको भनाई छ ।
प्रतियोगितामा सहभागी हुनेहरुका लागि दर्ता शुल्क रु.१ हजार लाग्ने छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर