pokhara news

वालिङमा कविता लेखन तथा वाचनमा नवप्रतिभा छनौट

वालिङ, १५ पुस ।
पण्डित आनन्दमणि टुल्कीनन्दकला स्मृति सम्मान तथा पुरस्कारका लागि वालिङमा प्रतिभा छनोट गरिएको छ । यही माघ १९ गते आँधीखोला गाउँपालिकाका–६, फापरथुमस्थित पण्डित आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिने सम्मान तथा पुरस्कारको प्रतिस्पर्धाका लागि आज एक कार्यक्रम गरी दुई जना नव प्रतिभा छनोट गरिएको हो । आज वालिङमा गरिएको कार्यक्रमबाट नव प्रतिभा स्मारिका अर्याल र विप्लव खनाल छनोट भएका छन् । प्रतिभा छनोट प्रतियोगितामा कविताको शिर्षक “हाम्रो देश नेपाल” दिइएको थियो । यसैगरी दिइएको शिर्षकमा कविता लेख्नका लागि सहभागीलाई १ घण्टाको समय तोकिएको थियो । प्रतियोतिामा ५ जनाले सहभागिता जनाएका थिए ।
छनोट भएका सहित सहभागीहरुलाई पुरस्कार वितरण गर्दै नेपाल सरकारका पूर्वमन्त्री एवम् साहित्यकार त्रिलोचन ढकालले कविता लेखन तथा साहित्य सिर्जनामा वालिङ क्षेत्रमा राम्रा प्रतिभाहरु भएको बताउनुभयो । वालिङ क्षेत्रमा साहित्यीक कार्यक्रमहरु भैरहने र स्रष्टाहरुले पनि उत्साहका साथ सहभागिता जनाउने गरेको आफूले पाएको प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका ढकालले व्यक्त गर्नुभयो । निश्चित समयमा दिइएको शिर्षकमा कविता लेख्नसक्नु ठूलो कुरा हो । यसरी तत्काल कविता सिर्जना गर्न कमैले मात्र सक्ने भन्दै नेपाली साहित्यमा राम्रो सम्भावना भएका प्रतिभाहरु वालिङ क्षेत्रमा रहेका साहित्यकार ढकालले उल्लेख गर्नुभयो ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले कार्यक्रमको आयोजना गरेको थियो । प्रतिभा छनोटसँगै प्रतिष्ठानले आफ्नो मासिक नियमित रचनावाचन कार्यक्रम अन्तर्गत ९२ औं शुङ्खला सञ्चालन गरेको थियो । रचनावाचनमा करिव डेढ दर्जन स्रष्टाले आ–आफ्ना रचनावाचन गरेका थिए । कार्यक्रममा पुरानादेखि नवप्रतिभासम्मको सहभागिता रहेको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर