वालिङमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
कात्तिक—२४, वालिङ ।
स्याङ्जाको वालिङमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । दुर्गाखिमा फाउण्डेशनले “बढ्दो वैदेशिक आकर्षण, कारण र समाधान” विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको हो । भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा २६ गते सोमबार वालिङमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
कार्यक्रममा दुर्गाखिमा फाउण्डेशनका अध्यक्ष बेनिमाधव कँडेल ( गोपाल ) ले आँफू समेत वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेपनि आफ्नो जन्मभूमिमा कुनै न कुनै योगदान दिन आवश्यक ठानेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष कडेलले सीमित समयका लागि विदेश जान सकिने र आफ्नो जन्मभूमिमा कुनै न कुनै योगदान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा बसेर नेतृत्वलाई गाली गलौज गर्ने, राजनितिक दल तथा अन्य विषयमा अनावश्यक टिका टिप्पणी गर्नु गलत हो । हामी पहिला आफ्नो भूमिका लागि केही योगदान गरेर मात्र स्वमुल्याङ््कन गर्नुपर्छ । विदेश जानुपर्छ त्यहाँको सीप र पूँजीलाई स्वदेशमै लगानी गर्न आवश्यक छ ।”
उहाँले शिक्षा, स्वास्थ्य, बालबालिका एवम् सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले ५ वर्ष अगाडि स्थापना भएको फाउण्डेशनले दुर्गाखिमा स्मृति छात्रवृत्ति वितरण, विद्यालयमा स्वच्छ पिउने पानीका लागि प्रशोधित मेशिन, कोरोना कालमा प्रभावितहरुलाई सहयोग गर्नेलगाएतका काम गरेको स्मरण गराउनुभयो । यसपटक अहिलेको समसामयिक विषयमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा आर्कषित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कँडेलले उल्लेख गर्नुभयो । आफ्नो स्रोत पारिवारिक आम्दानीको केहि प्रतिशतलाई बनाएको र अन्य कुनै संघसंस्थाबाट फाउण्डेशनले सहयोग नलिएको अध्यक्ष कंडेलले जानकारी गराउनुभयो ।
जिल्लास्थित माध्यमिक विद्यालयका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको सहभागितामा वक्तृत्वकला प्रतियोगिता गरिनेछ । २६ गते विहान १० बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः नगद २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाकोे साहित्यिक सम्मान एवम् रचना वाचन र साहित्यिक यात्रा गर्ने प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । प्रतिष्ठानले यही कात्तिक २७ गते भेषजविन्दु पुरस्कार एवम् भेषजराज साहित्यिक सम्मान, समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा गर्ने भएको हो । वालिङलाई कार्यक्षेत्र बनाएर सिंगो जीवन नै शिक्षणसेवासंँगै साहित्य सेवामा बिताउनुभएका साहित्य साधक भेषजराज शर्माको साहित्यिक योगदानलाई सामाजिक हितमा लगाउने उद्देश्यले २०६३ सालमा स्थपना भएको प्रतिष्ठानले सम्मान पुरस्कार तथा रचना वाचन कार्यक्रम गर्दै आएको छ ।
प्रतिष्ठानले स्थापनाकालदेखि भेषजराजले लेखी छोड्नुभएका कृतिहरुलाई प्रकाशन गर्ने, आफ्नै कोखबाट सन्ततिको सुखको अनुभवबाट वञ्चित हुनुभएका जोडिको नामबाट भेषजबिन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्य सम्मान वार्षिक रुपमा २०७४ सालदेखि नै प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खनालले बताउनुभयो । हरेक महिना फरक फरक स्थानहरु, विद्यालय, टोलहरुमा पुगेर प्रतिष्ठानले अन्तरनिहित साहित्यिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले रचना वाचन गर्दै आएको अध्यक्ष खनालले बताउनुभएको थियो ।
साहित्यिक यात्रा वालिङदेखि गल्याङ नगरपालिका १ मालुङ्गास्थित उत्तरवाहिनीसम्म हुने प्रतिष्ठानले जनाएको छ । साहित्यिक यात्रा विहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । भेषजविन्दु साहित्यिक पुरस्कार प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष खनालले जानकारी गराउनुभयो । यसैगरी भेषजराज साहित्य सम्मान डा. तर्कना शर्मालाई गरिने गरिने भएको छ । पुरस्कार, सम्मान र रचना वाचन कार्यक्रम उत्तरवाहिनी गुरुकुल विद्यालयमा हुने छ ।



Leave A Comment