pokhara news

वालिङमा दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला—२०८२ हुने

चैत ३०, वालिङ ।
स्याङ्जाको वालिङमा दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला—२०८२ हुने भएको छ । स्याङ्जा थीङ्क ट्याङ्क वालिङले यही आउने वैशाख १, २ र ३ गते दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला—२०८२ सञ्चालन गर्ने आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जानकारी गराएको हो ।
वित्तीय साक्षरता तथा स्टार्टअप प्रोत्साहन मेलाको मूल उद्देश्य रहेको छ । यस क्षेत्रका विद्यार्थी तथा युवाहरुलाई उद्यमशीलताका लागि प्रेरित गर्ने लक्ष्यले दोस्रो संस्करणको मेला सञ्चालन गरिएको आयोजक थीङ्क ट्याङ्कका कार्यकारी अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो ।
नव प्रवर्तन र प्रतिभा प्रदर्शनका लागि विशेष अवसर, स्याङ्जाको कला, संस्कृति र परम्पराका झलक, स्टार्टअप पिचिङ प्रतियोगिता अन्तर्गत नयाँ उद्यमीहरुको लागि उत्कृष्ट अवसर कार्यक्रमका आकर्षक हुन् । यसैगरी व्यक्तिगत वित्त, शेयर बजार र लगानी सम्बन्धी मार्ग दर्शन एवम् आइटी, व्यक्तिगत वित्त व्यवस्थापन र डिजिटल सीपहरु मेलाका आकर्षण रहेको छ ।
मेलामा प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिने थीङ्क ट्याङ्कका कार्यकारी अध्यक्ष नेपालले जानकारी गराउनुभयो । 
२०८२ वैशाख १ गते विधिवत समुद्घाटन गरिने र उद्यमशीलता र वित्तीय साक्षरता शिर्षकमा कविता प्रतियोगिता हुनेछ । प्रतियोगीहरुले कविता लेखेर बुझाउनुपर्ने र पहिलो दिन छानविन राउण्ड हुने आयोजकले जनाएको छ । दोस्रो दिन कविता प्रतियोगिताको फाइनल राउण्ड हुनेछ भने शीर्ष ३ जनालाई नगदसहित पुरस्कृत गरिने छ ।
कार्यक्रममा शिक्षा, उद्यमशीलता, खेलकुद, संस्कृति, पर्यटन तथा संस्थागत नेतृत्वलगायत विभिन्न विधाका १४ पुरुष र ३ महिलासहित १७ जनालाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
वालिङस्थित मुक्तिनाथ विकास व्याङ्क अगाडि थीङ्क ट्याङ्कको कार्यालय परिसरमा मेला सञ्चालन गरिने छ ।
युवाहरुको नेतृत्व एवम् क्षमता विकास गर्ने उद्देश्यसहित साना शहरहरुमा काम गर्दैजाने संस्थाको मूल ध्येय रहेको थीङ्क ट्याङ्कका कार्यकारी अध्यक्ष नेपालले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर