pokhara news

वालिङमा पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय गोष्ठी

असोज १०, वालिङ ।
स्याङ्जाको वालिङमा पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको छ । वालिङ नगरपालिकाको समन्वय र नेपाल वाटर कन्जरभेशन फाउण्डेशनको आयोजनामा आज पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको हो । 
पालिकाहरुमा जलवायु जोखिमले पारेका समग्र प्रभाव मध्ये पानीका स्रोत, वर्षा, भल पहिरो, खडेरी, आगलागी, विकास पूर्वाधार, वस्ती र व्यवसायमा भएको असरको लेखाजोखा गर्ने उद्देश्यले एकदिने गोष्ठीको आयोजना गरिएको थियो । यसैगरी महिला, सिमान्तकृत समूह, अपाङ्गता भएका व्यक्ति र सवलीकरणका अवसरको खोजी गर्ने तथा पालिका अन्तर्गत अत्यन्त जोखिममा परेका क्षेत्र र समुदायमा उपलव्ध प्रभाव न्युनिकरणका प्रविधि एवम् ज्ञानको माध्यमले नमूना प्रयोग र परीक्षण गर्नेलगाएतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।
गोष्ठीमा जलचक्रमा परेको असर, सुरक्षित बस्ती र घरधुरीको पहिचान तथा बढ्दो वातावरणीय जोखिम सम्बन्धी छलफल गरिएको थियो । 
स्याङ्जा जिल्ला अन्तर्गत वालिङ नगरपालिका र गल्याङ नगरपालिकामा जलवायु परिवर्तनले पानीको स्रोत र जीविकोपार्जनमा पारेको प्रभाव अध्ययनको सिलशिलामा नेपाल पानी सदुपयोग फाउण्डेशन सम्वद्ध बहुविधागत विज्ञ टोलीले प्रतिवेदन तयार पारेको आयोजकले जनाएको छ । साथै सम्बन्धित पालिकाका विषयगत विज्ञहरुले हालसालैका घटनाहरु समेटेर कार्यपत्र तयार गरिएको हो । यो गोष्ठीमा ती प्रतिवेदन र कार्यपत्रमा केन्द्रित भएर विचार आदान प्रदान गर्ने आयोजकको लक्ष्य रहेको थियो ।
कार्यक्रममा नेपाल पानी सदुपयोग फाउण्डेशन (एन डव्लु सि एफ) का डा. ङमिन्द्र दाहालसहित अध्ययन टोलीका सदस्यले गोष्ठीको उद्देश्य र छलफलका विषयमा संक्षिप्त जानकारी गराएका थिए । यसैगरी वालिङ नगरपालिका विपत शाखाका ढालबहादुर केसी, योजना शाखाका गणेश पौेडेल, प्राविधिक शाखाका ध्रुब रेग्मी तथा रोजगार शाखाका पवन बस्याल र वालिङ खानेपानीका विद्या श्रेष्ठले नगरपालिकाका विषयगत विज्ञहरुको प्रस्तुति राखेका थिए ।
कार्यक्रममा पानी र जलवायु परिवर्तनसँग जोडिएका समस्या र चुनौतिका बारेमा छलफल गरिएको थियो । यसका साथै पानी, जलवायु र विपतले असर पारेका टोल, समुदाय र प्रमुख घटना एवम् क्षति तथा समाधानका उपाय र कार्यहरुको छलफलसहित सूची सङकलन गरिएको छ ।
नगरपालिकाका जन प्रतिनिधी, कर्मचारी एवम् सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठीको आयोजना गरिएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर