pokhara news

वालिङमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार १ लाख ५० हजार

असोज २०, स्याङ्जा ।
वालिङमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आज वालिङमा पत्रकार सम्मेलन गरी यही कार्तिक २, ३ र ४ गते पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु.१ लाख ५० हजारसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः नगद रु. १ लाख, ५० हजार, २५ हजारसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तैगरी बिभिन्न ६ वटा शिर्षकमा विधागतरुपमा पुरस्कृत गरिने छ । जस अन्तर्गत वेस्ट प्लेयरलाई नगद रु. १० ले प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, मिडल व्लकर, वेष्ट सर्भर र वेष्ट डिफेन्डरलाई समान ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उदियमा खेलाडीलाई पनि नगद रुं ५ हजारले पुरस्कृत गरिने आयोजकले बताएको छ । प्रतियोगिताको बीचमा राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमसहित थप मनोरञ्जन प्रदान गरिने छ ।
प्रतियोगितामा जिल्लाका ११ पालिकाका ११ वटा समूहको सहभागिता रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्रजङ्ग केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार प्रतियोगीहरु आउने जाने एवम् खानेबस्ने सम्पूर्ण व्यवस्था सम्बन्धित पालिकाले गर्ने छ भने समूह दर्ता रु. १५ हजार लाग्नेछ । पालिकाभित्रको ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा प्रतियोगितामा सहभागी गराइने छ । 
स्थापनाको १६ वर्षको अवधिमा बिभिन्न सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरी जिल्लामा समितिले ९ करोड सहयोग गरिसकेको समितिका अध्यक्ष केसीले बताउनुभयो । खेलकुदको लागि यो पहिलो अभ्यास  हो ।
कार्यक्रमको मूल प्रायोजन अमेरिका रहनुहुने दिलु पराजुलीले गर्नुभएको छ । पराजुलीले नगद रु. २ लाखसहित मूल प्रायोजन गर्नुभएको हो । यस्तैगरी हाल अमेरिका रहनुहुने विमला हमालले प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ । कतारमा रहनुहुने नारायण शर्माले द्वितीय र सुकबहादुर केसीले तृतीय पुरस्कार प्रायोजन गर्नुभएको खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 
पुरस्कार, मेडल, अफिसियल, प्रचार प्रसार, खेल व्यवस्थापनसहित प्रतियोगिता सम्पन्न गर्नका लागि कूल १५ लाख ८५ हजार खर्च हुने आयोजकको अनुमान छ । यसका लागि प्रायोजक, पुरस्कार प्रायोजन, व्यानर सहयोगी, आर्थिक सहयोगलगाएतबाट खर्चको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर