pokhara news

वालिङमा भव्यताका साथ तमु ल्होसार मनाइँदै

वालिङ ११ पुस ।
तमु समाज सेवा समिति वालिङले तमु ल्होसार भव्यताका साथ मनाउने भएको छ । यही पुस १३, १४, १५ र १६ गते  वालिङ खेलमैदान स्थित तमु समाज भवन परिसरमा विभिन्न कार्यक्रम गरी मनाईने निर्णय समितिले गरेको हो ।

हरेक वर्ष ल्होसारका अवसरमा तमु समाजले भिन्न भिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ । यो वर्ष गुरुङ समुदायले गिद्ध वर्गको विदाई र सर्प वर्गलाई स्वागत गरी मनाउँदैछन् ।
गुरुङ समुदायले नयाँ बर्षको रुपमा पुस पन्ध्रलाई भव्यताका साथ मनाउँदै आएका छन् । ल्होसार भनेको नयाँ वर्ष हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । तमु समाज वालिङले यही पुस १३ गते शनिबार बृहत ¥यालीको आयोजना गरिएको जनाएको छ । ¥यालीले समाज भवन परिसरबाट शुरु भई वालिङ मोड, घुम्ती, भकुण्डे, भुम्रे, तल्लो वालिङ हुँदै पुनः समाज भवनमा आई समापन गरिनेछ ।

त्यस्तै १४ गते विहान गह्रौँ प्राथमिक अस्पताल, वालिङ हस्पिटल र वालिङ सामुदायिक डायलाईसिस केन्द्रमा रहनुभएका विरामीहरुलाई फलफूल वितरण, विभिन्न उमेर समुहबीच विविध खेलकुद प्रतियोगिता, साँझ ७ बजेबाट स्थानीय कलाकारहरुको साथमा ल्होसार सङ्गीत साँझसहित राती १२ बजे नयाँ वर्षलाई स्वागत गरिनेछ । यस्तै पुस १५ गते शुभ भोज विविध साङ्गीतिक कार्यक्रम, सम्मान एवं खेलकुदमा विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण, रोधी कार्यक्रम गर्दै पुस १६ गते सांस्कृतिक कार्यक्रमसहित ल्होसार समापन गरिने तमु समाज सेवा समिति वालिङ महासचिव इश्वर गुरुङले बताउनुभयो ।  


ल्होसार पर्वमा ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर एकआपसमा शुभकामना साटासाट गरि मनाईन्छ  । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिएर धुमधामका साथ मनाउँछन् ।

    

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर