pokhara news

वालिङमा महिलाहरुका लागि वृहत स्वास्थ्य शिविर

गोपाल जिटी
वालिङ–२२, पुस ।
स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकमैत्री कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने वृहत स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो । महिलाहरुका लागि तीनदिने वृहत स्वास्थ्य शिविर ८ नम्वर वडामा आजदेखि सुरु भएको छ । 
कार्यक्रम अनुसार नगरपालिकाको ८ नम्वर वडाको आयोजनामा आज वडाको काफलडाँडा स्वास्थ्य चौकीमा तीनदिने शिविर सुरु गरिएको हो । शिविरमा ३० देखि ४९ वर्षसम्मका महिलाहरुको पाठेघर सम्बन्धी जाँच गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । भोलि बुधबार र पर्सी विहिबार वडा कार्यालयमा गरी तीनदिने शिविर सम्पन्न गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
विभिन्न भेकका नागरिकहरुको सहजताका लागि आज वडाको माथिल्लो भेक काफलडाँडास्थित स्वास्थ्य चौकीबाट शिविर सुरु गरिएको हो  । शिविरमा ८ नम्वर वडासँग जोडिएका र पायक पर्ने अरु वडाबासीले पनि लाभलिन सक्नेछन् । गिरी गाउँ, आग्रीडाँडा, कुमश्वाँरा र काफलडाँडा स्वास्थ्य चौकी पायक पर्ने ७ नम्वर वडाका नागरिकहरुले पनि शिविरबाट लाभ लिन सक्नेगरी आज पहिलो दिन काफलडाँडामा शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले उल्लेख गर्नुभयो । आज पहिलो दिन काफलडाँडा स्वास्थ्य चौकीमा १८ जना महिलाले पाठेघर जाँच गराएका छन् । जाँच गराएका सबैजनाको नेगेटिभ रिपोर्ट आएकाले कसैमा पनि समस्या नरहेको शाखा प्रमुख पाण्डेले जानकारी गराउनुभयो । शिविरमा गह्रौंकालिका प्राथमिक अस्पताल वालिङका प्राविधिकहरुबाट सेवा प्रदान गरिएको हो । भोलि बुधबार र पर्सी विहिबार ८ नम्वर वडा कार्यालय परिसरमा शिविर सञ्चालन हुने भएकाले निर्धारित उमेर समूहका महिला दिदी बहिनीहरुले आ–आफ्नो पाठेघर जाँच गराएर लाभ लिन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गर्नुभएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर