pokhara news

वालिङ—हुवास सडकखण्ड तीब्रगतिमा पीच हुँदै, पूर्वमन्त्री अर्यालद्वारा निरीक्षण

जेठ ६, वालिङ ।
स्याङ्जाको वालिङ—हुवास सडक खण्डमा कालोपत्रेको काम तीब्रगतिमा भैरहेको छ । यो सडकको स्तरोन्नतिसहित कालोपत्रेका लागि २०७६ सालमै बहुवर्षीय योजनामा परेको थियो । छिटो छिटो सरकार परिवर्तन हुने र समयमा बजेट विनियोजन हुन नसक्नेलगायतका प्राविधिक समस्याले यो सडक पीच गर्ने कार्य हुन सकेको थिएन । वर्षौं पहिलादेखि सञ्चालनमा आएको सडक व्यवस्थित हुन नसक्दा वर्षादमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर यात्रु तथा आसपासका नागरिकहरुले सास्ती भोग्नुपरेको थियो । अब भने कालोपत्रेको काम भएसँगै वालिङ—हुवासका लागि सहज हुने भएको छ । वालिङदेखि  अर्चल्बोट, तमादी, डुम्रेभञ्ज्याङ, पर्बत, सेतिवीणी हुँदै गुल्मी जिल्लासँग जोड्ने सडक यातायातले पूर्णता पाउने छ ।
यसैबीच ठेकेदार कम्पनीबाट सडक पीचको काम के कस्तो भैरहेको छ, भनी नेपाल सरकारका पूर्व मन्त्री पद्माकुमारी अर्यालले निरीक्षण गर्नुभएको छ ।
आफू सांसद भएको समयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय योजनामा परेको सडक स्तरोन्नतिसहित कालोपत्रेको कामलाई विशेष चासो दिदै पूर्वमन्त्री अर्यालले निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा ठेकेदार कम्पनी आरएसजेभीका साइट इञ्चार्ज सुमन गौतमलाई भेटेर समयमा काम सम्पन्न गर्न नेकपा एमालेका सचिवसमेत रहनुभएकी पूर्वमन्त्री अर्यालले निर्देशन दिनुभएको छ । उहाँले समयमा काम सक्नुस पैसाको अभाव हुदैन भनी साइट इञ्चार्ज गौतमलाई विश्वस्त पार्नुभएको छ । साइट इञ्चार्जले पनि तोकिएको समयावधिमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो सडकमा अस्फाल्ट प्रबिधि को गुणस्तरीय पीच गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।
वालिङ—हुवास सडक खण्ड अन्तर्गत वालिङ ९ स्थित भुम्रे नजिकैको नाँकेडाँडादेखि कालोपत्रेको काम गरिएको हो । यस अन्तर्गत अहिले पिपलटारीदेखि तल्लो सडक ९.७ किलोमिटर कालोपत्रेको काम धमाधम भैरहेको छ । ४० करोडको बजेटमा ३७ करोडमा ठेक्का भई सडक पीचको काम गरिएको हो । योसँगै पिपलटारीदेखि वालिङ—हुवास सडक खण्ड अन्तर्गत माथिल्लो सडक पानी टङ्कीसम्म पनि लगत्तै कालोपत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । करिव ३ किलोमिटर सडक सवा ८ करोडमा ठेक्का भएको हो भने स्तरोन्नतिको काम सम्पन्न भैसकेको छ । यो सडकका लागि २०८१ भदौमा सम्झौता भई काम अगाडि बढेको हो । २०८३ भदौको पहिलो सातामा सम्पन्न गर्ने सम्झौता छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर