वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई, सहकारी देखि शिक्षक सरुवा बढुवा सम्मका जिज्ञासा
पुस—१९, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले हिजो विहिबार सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारिता विषयक चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा वालिङमा देखिएको सहकारीका समस्यादेखि शिक्षक सरुवा बढुवासम्मका जिज्ञासा नागरिकले राखेका थिए । गतिशील बहुउद्देश्यीय महिला सहकारीका बचतकर्ताहरुको रुवाबासी स्थानीय सरकार र पत्रकारबाट पनि बेवास्ता भएको नागरिकले गुनासो गरे ।
सहभागी श्याम शर्माले भन्नुभयो, “सहकारी पिडित पटक पटक नगरपालिका धाए, मेयरसाबले सहकारी छानविन समिति बनाउने भन्नुभयो । समिति पनि बन्यो तर उक्त समितिको संयोजकलाई प्रगतिको बारेमा प्रश्न गर्दा गैह्रजिम्मेवार उत्तर दिनुभयो ।”
यसैगरी व्यवसायी तथा प्रकाश अर्यालले वालिङ नगरपालिकामा रहेका विभिन्न शाखाहरुमा स्पष्ट रुपमा कार्यालयको सेवा र सुविधाका विषयमा जानकारी दिने बडापत्र नहुँदा नागरिक अलपत्र पर्ने अवस्था रहेको भन्दै वालिङबाट अन्यत्र बसाईँसराई व्यापक रहेकोमा नगरपालिकाले यसतर्फ ध्यानदिनुपर्ने सुझाए । त्यस्तै ओमप्रकाश पंगेनीले सार्वजनिक सुनुवाईका लागि समय एकथरी दिने र सुरुवात २ घण्टा ढिला गरी गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने भन्दै जनप्रतिनिधिबाट कस्तो पाठ सिक्ने भन्दै प्रश्न गर्नुभयो । कार्यक्रममा नागरिकहरुले धेरै गुनासो र आक्रोस पोखेको थिए । शिक्षक सरुवा बढुवादेखि सार्वजनिक शौचालयसम्मका गुनासाहरु नागरिकको थियो । त्यस्तै ग्रामिण क्षेत्रका नागरिकहरुले कृषिमा वन्यजन्तुको आक्रमणका कारण गाउँ रित्तो हुने अवस्था रहेको भन्दै त्यसतर्फ नगरपालिकाको ध्यान पुग्नुपर्नेमा जोड दिएका छन् ।
वालिङको शिक्षा, स्वास्थ्य, कृषि, बसाईसराई, व्यापार व्यवसाय जताततै समस्या देखिएकाले आगामी १० वर्षमा वालिङको भविष्य कस्तो रहन्छ भन्दै प्रश्न गरे । कार्यक्रममा जिज्ञासाहरुको सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खांँणले जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहने, मार्ग निर्देश गर्ने सबै शुभेच्छुक भएको बताउनुभयो । नागरिकहरुका खबरदारीका कारण जनप्रतिनिधि सच्चिएर नगरको थप विकासका लागि सकारात्मक उर्जा मिल्ने नगरप्रमुख खांणको भनाई थियो ।
मानवबाट नै मानवीय त्रुटि हुने भएकाले नाजानेर हुने र नियतबस गरिने त्रुटी भने फरक रहेको उहाँको भनाई थियो । उहाँले वालिङबाट हुने बसाईसराईको विषयमा प्रमुख कारणहरु पत्ता लगाउँदै यहाँ सम्भावनाहरुको खोजी गरी शिक्षा, स्वास्थ्य र रोजगारीको पक्षलाई सबल बनाएर बसाईसराई रोक्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । समयमै नियमन हुन नसक्दा पछिल्लो समय मुलुकका धेरै सहकारीहरुमा समस्या सिर्जना भएको र वालिङमा छानविन समितिले नै यहाँका सहकारीहरुमा देखिएका समस्याको निराकरण गरिने नगर प्रमुख खाँणले बताउनुभयो । गतिशील सहकारीमा देखिएको समस्या समाधानका लागि नगरपालिका लागिपरेको छ, अबको एक महिनामा सहकारीको समस्या समाधान गरिने उहाँको दावी थियो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले चालु आर्थिक वर्षमा ९६ करोड १४ लाख १४ हजार ७ सय ४१ रुपैँयाको बजेटमा रहेर काम भईरहेको बताउनुभयो । वालिङ नगरपालिकाले सरसफाई एवम् स्वास्थ्यका क्षेत्रमा राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको भन्दै कृषिका क्षेत्रमा दुधमा अनुदान, बीउ पुँजीलगायतका कार्यहरु गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले चालु आर्थिक वर्षमा अहिलेसमम २३.८३ प्रतिशत चालु खर्चको प्रतिवेदन प्रस्तुत गर्दै पूँजीगत ७.०४ प्रतिशत रकम खर्च भएको उल्लेख गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रम गह्रौँ कालिका मिडिया प्रालीको सहजिकरणमा भएको हो ।



Leave A Comment