pokhara news

वालिङ नगरपालिकाद्वारा फरक क्षमता भएकालाई सहायता

वालिङ , मंसिर १८
स्याङ्जाको वालिङ नगरपालिकाले फरक क्षमता भएकाहरुका लागि सहायतास्वरुप सामग्री प्रदान गरेको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नगरपालिकाले फरक क्षमता भएका नगरवासीलाई सहायता सामाग्री वितरण गरेको हो । दृष्टि विहीनलाई सेतो लट्ठी र चश्मा वितरण गरिएको छ भने शरीरिक अपाङ्ग भएकालाई ह्वील चियर र बैशाखी प्रदान गरिएको छ । 
नगरपालिकाले नगरभित्र बसोबास गर्ने फरक क्षमता भएकालाई हेरचाह गर्ने अभिभावक वा परिवारका सदस्यलाईसमेत सहयोग प्रदान गरेको छ । हेरचाह गर्नेहरुका लागि मासिक पाँच सय दिँदै आएको नगर उपप्रमुख कविता गैह्रेले बताउनुभयो । यस्तै ग र घ वर्गका फरक क्षमता भएका व्यक्तिहरु राज्यका धेरै कार्यक्रमबाट पछि परेकाले उनीहरुको  स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने भएको छ । 
रातो कार्ड पाएका सेवाग्राहीलाई संघीय सरकारले र नीलो कार्ड पाएका सेवाग्राहीलाई प्रदेश सरकार मार्फत स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । 
वालिङ नगरभित्र नयाँ बन्ने भवनहरु अपाङ्गमैत्री बनाउँने उल्लेख गर्दै नगरभित्र सहज पहुँच पु¥याउन नगरले लिफ्ट राख्ने तयारी गरेको उपप्रमुख गैह्रेले जानकारी गराउनुभयो । 
कार्यक्रममा फरक क्षमता भएकालाई लक्षित गर्दै स्वास्थ्य शिविर , शीपमूलक तालिम प्रदान गर्नुपर्ने अपाङ्ग संजाल वालिङका अध्यक्ष डेलबहादुर विकले बताउनुभयो । वालिङ नगरले बेलाबेलामा आँफूहरुलाई लक्षित गर्दै कार्यक्रम गरेको भएपनि जीविकोपार्जनसँग जोडिने कार्यक्रम ल्याउनुपर्ने बिकको सुझाव छ । 
यस्तै , नगरभित्र अपाङ्ग मैत्री संरचना र कार्यक्रम प्राथमिकतामा राखिने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनभयो । श्रवण शक्ति विहीन  भएकालाई लक्षित गर्दै नगरभित्रका फरक क्षमता भएकालाई तालिम प्रदान गरेर दोभासे राख्ने नगरको सोँच रहेको सुवेदीको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर