pokhara news

वालिङ नगरपालिकाद्वारा बाख्राका लागि आधुनिक खोर निर्माणमा जोड

वालिङ वैशाख १० । 
स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु उत्साहित भएका हुन् । 
परम्परागत अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नश्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्रेरित गर्दै आएको छ ।
अनुदानमा आधुनिक खोर निर्माण गर्नु भएकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले गाउँमा छुट्टै खुशियाली छाएको बताउनु भयो । उहाँले भन्नुभयो,“अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो ।” अहिले १२ बाख्रा पाल्दै आउनु भएकी मल्लले अब खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताउनु भयो । गाउँका धेरै बाख्रापालक कृषकले खोर बनाउने योजना बनाएको उहाँको भनाई छ । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुनुहुन्छ । 
३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताउनुहुन्छ । 
वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले जानकारी गराउनु भयो । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको उहाँको भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । 
बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाकासाथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खाँंणले बताउनु भयो । उहाँले भन्नुभयो,“साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको नगरप्रमुख खांँणको भनाई छ ।
बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताउनु भयो । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सबल बनाउने पालिकाको योजना रहेको उहाँको भनाई छ ।
नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४,५ र ६ मा गरी बाख्राको आधुनिक खोर २६ वटा निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाई सम्बन्धी जानकारी दिदै आएको उहाँको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर