pokhara news

वालिङ नगरपालिकामा ४ वटा महत्वपूर्ण ऐन तथा विधेयक पारित

वालिङ, माघ २ । 
यतिबेला स्थानीयतहहरु हिउँदे अधिवेशनमा जुटिरहेका छन् । यस अवसरमा अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफलसहित पारित गरेर अगाडि बढ्ने स्थानीयतहहरुको नियमित कार्यक्रममा पर्दछ । यसका साथै पालिकाका गतिविधीलाई सुदृढ गर्दै लैजाने क्रममा आवश्यक ऐन तथा विधेयकसमेत ल्याउने गरिन्छ । 
यसैबीच स्याङ्जाको वालिङ नगरपालिकाले पनि आफ्नो नियमित कार्यक्रम अनुसार १९ औँ नगरसभा मार्फत विभिन्न ४ वटा महत्वपूर्ण ऐन तथा विधेयक ल्याई पारित गरेको छ । नगरपालिकाको १९ औँ नगरसभा एवम् हिउदे अधिवेशनका अवसरमा नगरको समग्र सुशासन, कानुनी व्यवस्था सुदृढीकरण र दिगो विकासलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको हो ।
नगरसभाबाट बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन–२०७५ को पहिलो संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२, जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक–२०८२ र सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण ऐन–२०८२ पारित गरिएको छ । यी निर्णयहरूले नगरपालिकामा कानुनी शासनलाई मजबुत बनाउँदै सामाजिक न्याय, आर्थिक अनुशासन, वातावरण संरक्षण र व्यवस्थित पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको नगरप्रमुख एवम् नगरसभाध्यक्ष कृष्ण खाँणको भनाई छ । 
नगरसभामा कार्यपालिकाको सार–संक्षेप प्रस्तुति नगरप्रवक्ता पदमराज गुरुङले गर्नुभएको थियो । उहाँले कार्यपालिकाबाट भएका प्रमुख निर्णय, कार्यान्वयनको अवस्था र आगामी प्राथमिकताका विषयमा नगरसभालाई जानकारी गराउनुभयो ।
नगरसभामा सहभागी नगरसभा सदस्यहरूले प्रस्तुत ऐन, विधेयक र प्रतिवेदनहरूमाथि छलफल गर्दै सुझाव दिएका थिए । छलफलपछि ऐन तथा विधेयकहरू सर्वसम्मतले पारित गरिएको हो । नगरसभाले नगरलाई सुशासित, समावेशी र दिगो विकासतर्फ अग्रसर गराउने महत्वपूर्ण आधार तयार गरेको भन्दै सहभागीहरूले यसलाई उपलब्धिमूलक भएको बताएका छन् ।
यसैगरी नगरसभाको बैठकमा विभिन्न विषयगत समितिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो । समितिहरूले आ–आफ्नो क्षेत्र अन्तर्गत भएका गतिविधि, उपलब्धि, समस्या एवम् आगामी कार्यदिशाका बारेमा नगरसभालाई जानकारी गराएका थिए । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर