pokhara news

वालिङ साना किसान कृषि सहकारीले सातौं साधारणसभा ग¥यो

भदौ ६, वालिङ ।
वालिङ साना किसान कृषि सहकारी संस्थाले सातौं वार्षिक साधारणसभा गरेको छ । असार मसान्तमा आर्थिक वर्ष सकिए पनि प्रायजसो सहकारीहरुले कात्तिक लागेपछि मात्र आ—आफ्ना संस्थाका वार्षिक साधारणसभा गर्दै आएका छन् । तर वालिङ साना किसान कृषि सहकारीले आफ्नो सातौं वार्षिक साधारणसभा भदौं पहिलो सातामै सम्पन्न गरेको छ । हरेक संस्थाको वार्षिक साधारणसभाले संस्थागत गतिविधिलाई चुस्त दुरुस्त र सबल बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सोही अनुरुप वालिङ साना किसान कृषि सहकारीले समयमै वार्षिक साधारणसभा सम्पन्न गरेर सदस्यहरुको भावना अनुरुप अझ सबल र सक्षम बन्ने प्रयास गरेको छ ।
साधारणसभाको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले एक व्यक्ति एक सहकारीको नीति अनुसार चल्न सक्यौं भने संस्था सबल र सक्षम बन्ने बताउनुभयो । आँफू पनि सहकारीकै क्षेत्रबाट नेतृत्व गर्दै नगरपालिकाको उपप्रमुख हुने अवसर प्राप्त गरेको भन्दै उपप्रमुख गैह्रेले एक सहकारीको नीति अनुसार चल्न सक्यौं भने संस्था सबल र सक्षम बन्नेमा जोड दिनुभयो । 
आज वालिङमा ५ वटा भन्दा बढि सहकारी बन्द भएको अवस्था छ । त्यसले गर्दा हामी सहकारी सदस्यले जान्नुपर्ने विषय भनेको पहिलो त सहकारीको नतृत्व गर्ने व्यक्तिले अर्को नयाँ नेतृत्व वा मातहतका सञ्चालकहरु आफ्नो अनुपस्थितिमा पनि संस्थाको बागडोर हाँक्न सक्ने ध्येय राख्न जरुरी रहेछ । गतिशील महिला बहुउद्देश्यीय सहकारीमा अध्यक्षमा रहिरहँदा म बाट अलिकती कमजोरी भएकाले आज संस्थाले दुःख र पिडा भोग्नुपरेको उपप्रमुख गैह्रले उल्लेख गर्नुभयो । आज शेयर सदस्यहरुले पैसा फिर्ता माग्न आउनुभएको छ, भनेको बेलामा फिर्ता पाउनु सकिरहनु भएको छैन । अतः हामीले सक्षम नेतृत्व चयन गर्न सक्नुपर्दोरहेछ भन्ने आफ्नो बुझाइ रहेको उपप्रमुख गैह्रेको भनाई थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष सीता पाण्डे डुम्रेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष डुम्रेले कूल १ हजार ३ सय १६ जना सदस्य रहेको संस्थामा १ सय ४९ समूह रहेको आफ्नो प्रतिवेदन मार्फत जानकारी गराउनुभयो । उहाँले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार सातौं वार्षिक साधारणसभाको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार रु.६४ लाख ५ हजार शेयर पूँजी रहेको सहकारीको रु.२ करोड १६ लाख ६८ हजार ९ सय ८७ निक्षेप रहेको छ । निक्षेपको आधारमा २९ प्रतिशत तरलता रहेको छ ।
रु.१ लाख ४३ हजार शेयर लगानी गरेको र रु.२ करोड २३ लाख ९४ हजार २ सय ४ कर्जा लिएको हिसाव रहेको छ । साधारण जगेडा कोषमा रु.२६ लाख ६९ हजार १ सय ६९ रहेको र अन्य कोषहरुमा रु.३४ लाख २२ हजार २ सय १६ रहेको अध्यक्ष पाण्डेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी रु.३ करोड १३ लाख ६० हजार ७ सय ९० लगानी गरेको सहकारीले रु. ३ करोड १४ लाख २७ हजार २ सय ७ कर्जा अशुली गरेको छ । रु. ६२ लाख ९५ हजार ८ सय ९४ कूल आम्दानी गरेको सहकारीले कूल खर्च रु.६१ लख ७७ हजार ६३ रुपैयाँ हुँदा रु.१ लाख १८ हजार ८ सय ३४ खुद मुनाफा गरेको छ ।
कार्यक्षेत्रका शतप्रतिशत घरधुरीलाई सदस्य विस्तार गर्ने, गैर सदस्यको पहिचान गरी सदस्य बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने, अशुली दरलाई शतप्रतिशत बनाउन योजनावद्ध तरिकाबाट लाग्ने, पशुबीमा सञ्चालन गर्ने र उत्कृष्ट किसान तथा फर्महरुलाई सम्मान गर्नेलगायतका भावी कार्यक्रमहरुको जानकारीसहित संस्थाले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर