विपदमा ज्यान गुमाएका र पूर्ण रुपमा घरमा क्षति भएकाले राहतसँगै घर निर्माणका लागि सहयोग पाउने
वालिङ २६ असार ।
मनसुन सुरु भएयता स्याङ्जामा ९ जनाले ज्यान गुमाएका छन् । असार १४ देखि २४ गतेसम्म जिल्लामा प्राकृतिक विपदबाट ९ जनाले ज्यान गुमाएका हुन् भने ७ जना बाढी पहिरो जस्ता विपदबाट घाईते भएका छन् ।
यसरी प्राकृतिक विपदमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ५० हजार र केन्द्र सरकारले २ लाख गरी साढे दुई लाख रकम राहत स्वरुप मृतकका परिवारलाई प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद सहायता कक्षका संयोजक दिपक पौडेलले बताउनुभयो ।
तत्कालिन राहतस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारको तर्फबाट ५० हजार मृतकको परिवारलाई प्रदान गर्नेछ भने बाँकी २ लाख रकम भने मृतकको परिवारका सदस्यले बैंक खाता खोलेपछि प्राप्त गर्नेछन् ।
त्यस्तै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई नयाँ घर निर्माणका लागि पनि सरकारले रकम प्रदान गर्नेछ । यसका लागी पुर्ण रुपमा क्षति भएको प्रष्ट देखिएको फोटो, प्रहरीको मुचुल्का सहित पालिका मार्फत प्रशासनले घर निर्माणको लागि रकम प्रदान गर्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
विपदबाट पूर्ण रुपमा घरमा क्षति भएकाले घर निर्माणको लागि अधिकतम ४ लाख सम्म रकम पाउनेछन् । यो राहतका लागि पालिकाबाट प्रक्रियागत रुपमा जानुपर्नेछ । त्यस्तै पशुचौपायमा क्षति भएकाको लागी जिल्ला भेटेरीनरी अस्पताल स्याङ्जाले मरेका पशुको राहत र घाईते पशुको उपचारको व्यवस्था गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्लामा ३ घरमा पूर्ण रुपमा क्षति भएको छ भने २२ घरमा सामान्य क्षति भएको छ । त्यस्तै ११६ घर पहिरोको जोखिमा परेका छन् । त्यस्तै ११ गोठ पुर्ण रुपमा क्षति हुँदा ३७ पशुचौपाय मरेका छन् भने १२ चौपाय घाईते भएका छन् । त्यस्तै २७ गोठ पहिरोको जोखिमा रहेका छन् ।
११ पालिका रहेको जिल्लामा पुतलीबजारमा २ जनाले ज्यान गुमाएका थिए भने ६÷६ घर र गोठ जोखिममा रहेका छन् भने २ घरमा समान्य क्षति पुगेको छ । त्यस्तै गल्याङमा २४ घर र १ गोठ जोखिमा रहेको छ भने ३ चौपाय मरेका छन् ।
त्यस्तै वालिङमा विपदबाट एकजना घाईते ७ घर र ६ गोठ जोखिमा हुँदा ४ घरमा पुर्ण क्षति भएको थियो भने ४ चौपाय मरेका छन् । त्यस्तै ३ चौपाय घाईते भएका छन् । त्यस्तै भीरकोटमा १ जनाले ज्यान गुमाएका थिए भने १ घर पूर्ण क्षति हुँदा ३२ घर र ६ गोठ जोखिमा रहेका छन् ।
त्यसैगरी एक गोठ पूर्ण क्षति भएको थियो भने २० चौपाय मरेका छन् र एक घाईते भएका छन् । त्यस्तै विरुवा गाउँपालिकामा ३ जनाले ज्यान गुमाएका थिए भने ५ जना मानिस घाईते भएका छन् ।
दुई घर पूर्ण रुपमा क्षति भएको थियो भने एक घर जोखिममा रहेको छ । यस्तै आँधीखोला गाउँपालिकामा एक जना मानिसले ज्यान गुमाएका थिए भने एक जना घाईते भएका छन् ।
आँधीखोलामा दुईगोठ पूर्णरुपमा क्षति हुँदा दुई चौपाय मरेका थिए भने एउटा चौपाय घाईते भएका छन् । त्यस्तै १९ घरमा समान्य क्षति भएको छ भने एक गोठ जोखिमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै फेँदिखोलामा दुई मानिसले ज्यान गुमाएका थिए भने एक घर जोखिमा रहेको छ । कालीगण्डकीमा ६ घर र दुई गोठ जोखिमा रहेको छ । त्यस्तै हरिनासमा दुई गोठमा क्षति हुँदा ३ चौपाय मरेका छन् भने दुई घर जोखिमा रहेका छन् ।
त्यस्तै अर्जुनचौपारीमा एक गोठमा पूर्णरुपमा क्षति हुँदा ५ चौपाय मरेका छन् भने ७ चौपाय घाईते भएका छन् । त्यस्तै ३३ घर र ६ गोठ पहिरोको जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार समाज भवन, स्वास्थ्य केन्द्र भवन र सवारी साधन गरी ११ ओटामा क्षति भएको छ ।



Leave A Comment