विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण शुरु, आज राष्ट्रिय झण्डा आधा झुकाइने
साउन–१०,काठमाडौ सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उहाँले जानकारी दिनुभयो । मृतकका आफन्तले उपलब्ध गराएको विवरण अनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उहाँले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताउनुभयो । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ । यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकाअनुसार आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय गरेको छ । विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । हिजो बिहान काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । विमानका पाइलट मनिष शाक्य घाइते हुनुभएको छ । उहाँको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment