pokhara news

वृहत खानेपानी आयोजना डिपिआरसम्बन्धी अन्तरक्रिया

जेठ १३, वालिङ ।
स्याङ्जाको वालिङमा वृहत खानेपानी डिपिआरसम्बन्धी अन्तरक्रिया गरिएको छ । वालिङमा वृहत खानेपानी योजना सञ्चालनका लागि गरिएको डिपिआरसम्बन्धी वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अन्तरक्रिया आयोजना गरेको हो । वालिङ वृहत खानेपानी आयोजनाको लागि संघीय खानेपानी कार्यालय पोखराद्वारा नियात्रा कन्सल्टेन्सीले गरेको डिपिआरका सम्बन्धमा आज जनप्रतिनिधि एवम् सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँणले खानेपानीलाई व्यवस्थितरुपमा अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । खानेपानीलाई व्यवस्थितरुपमा अगाडि बढाउन सरोकारवाला सबैको साथ, सहयोग र सुझाव अनुसार गरिने नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो । उहाँले यसका लागि नगरपालिकाले नीतिगत र प्राविधिक सहयोगकासाथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न स्थानमा रहेका खानेपानीलाई एकद्वार प्रणालीमा वितरण गर्नु उचित हुने उहाँको भनाई छ । उहाँले  भन्नुभयो, “शुद्धिकरण गरेर स्वस्थ पानी पिउन आवश्यक छ । यसका लागि सबैठाउँमा पानी शुद्धिकरणको प्रविधि सम्भव नहुनसक्छ । त्यसैले खानेपानीलाई एकिकृत गरेर एकद्वार प्रणालीबाट शुद्धिकरण गरिएको स्वस्थ पानी वितरण गर्नु उचित हुन्छ, अहिले वालिङ साना शहरीले मातहतका उपभोक्तालाई शुद्धिकरण गरिएको पानी वितरण गरिरहेकोछ । अब वृहत खानेपानी आयोजना सञ्चालनमा ल्याएर संस्थाले पालिकाका सबै वडामा एकद्वार प्रणालीमा स्वस्थ पानी व्यवस्थितरुपमा वितरण गर्नुपर्छ ।”
वालिङ वृहत खानेपानी आयोजनाका लागि नियात्रा कन्सल्टेन्सीले नगरपालिकाका ९ वडामा स्थलगत अध्ययन गरी ३ महिनाको समय लगाएर डिपिआर तयार पारेको हो । कन्सल्टेन्सीले नगरपालिकाका १,२,६,८,९,१०,११,१२ र १३ गरी ९ वटा वडाको डिपिआर तयार पारेको हो । कन्सल्टेन्सीले तयार पारेको डिपिआर अनुसार आयोजना सञ्चालनका लागि ७७ करोडको अनुमान गरिएको छ । यसमा १० प्रतिशत वालिङ साना शहरी खानेपानी तथा सरसफाई संस्थाले साझेदारी गर्नुपर्ने छ । यो आयोजना सञ्चालनबाट ७ हजार ३ सय घरधुरी लाभान्वित हुनेछन् ।
नगरपालिकाका १४ वटै वडाहरुमा बाँकि रहेका र आवश्यकता भएकाहरुलाई समेटेर आयोजना अगाडि बढाउनुपर्ने सहभागीहरुले सुझाएका छन् । 
कार्यक्रममा कन्सल्टेन्सीका ईञ्जिनियर जेनिस महर्जनले डिपिआरका बारेमा सहजिकरण गर्नुभएको थियो । यसैगरी संघीय खानेपानी कार्यालय पोखराका आयोजना प्रमुख पदम कुँवरले वालिङ आयोजना सञ्चालनका लागि नीतिगत र लगानीका सन्दर्भसहित सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्नुभएको थियो ।
खानेपानी जनताको मौलिक हक भएकाले सबै वडामा पानी पु¥याउने दीर्घकालीन लक्ष्य राखिएको आयोजकले जनाएको छ । डिपिआरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वडाका खानेपानी उपभोक्ता समितिका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर