संस्कृति प्रवद्र्धनसहित पर्यटकीय गन्तव्यको विकासमा वालिङ—७
जेठ २५, वालिङ ।
वालिङको ७ नम्वर वडा संस्कृति प्रवद्र्धनमा अगाडि बढेको छ । “हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित वडाले संस्कृति प्रवद्र्धन—२०८२ को आयोजना गरेको छ । मौलिक कला र संस्कृतिको प्रवद्र्धनसहित वडालाई पर्यटन गन्तव्यकोरुपमा विकास गर्ने उद्देश्यले संस्कृति प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो । वडाका गाउँबस्तीमा परापूर्वकालदेखि रहेका कला र संस्कृतिको केवरे भञ्ज्याङस्थित बालसिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार प्रदर्शन गरिएको छ ।
कार्यक्रममा गुरुङ समुदायमा विद्यमान घाँटु, घ्याव्री एवम् मारुनी र मगर समुदायमा प्रचलित कौडागीत तथा नृत्य, सालैजो, लामो भाका, ठाडो भाका, झाम्रे, रत्यौलीलगायतका प्रस्तुतिहरु राखिएको थियो । गीत अनुसारका मौलिक भेषभुषामा सजिएर निकै आकर्षकरुपमा प्रदर्शन गरिएको थियो । मौलिक भेषभुषा र उत्साहजनक सहभागिताले केवरे भञ्ज्याङमा शनिबार सांस्कृतिक मेला कै झल्को दिएको थियो । वडामा रहेका १० वटा टोल र आमा समूह तथा १ वटा पञ्चेबाजासहित २१ समूहले आ—आफ्नो प्रस्तुति राखेका थिए । लोप हुन लागेका संस्कृति पुस्ताहस्तान्तरणसहित प्रवद्र्धन गर्ने र वडालाई पर्यटन गन्तव्यकोरुपमा विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष पाण्डुकुमार थापाले जानकारी गराउनुभयो । संस्कृति प्रवद्र्धनका लागि वडाले बजेट छुट्याएरै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा मगर, गुरुङ, क्षत्री, भुजेल, परियार एवम् विश्वकर्मालगायतका जातजातिहरुको मिश्रित बस्ती छ । घाँटु, घ्याब्री, मारुनी, कौडा, सालैजो, लामो भाका, ठाडो भाका, झ्याउरेलगायतका संस्कृतिहरु छन्, जुन हाम्रो मौलिक संस्कृति र पहिचान हुन् । पछिल्लो समयमा आएर यस्ता मौलिक सम्पदाहरु लोप हुने अवस्थामा छन् । यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरिएको हो ।”
वडा अध्यक्ष थापाका अनुसार निकट भविष्यमा बनकटास्थित गुरुङ बस्तीमा होमस्टे सञ्चालन गरिने छ । जसका लागि भवन निर्माणको थालनी भैसकेको छ र अन्य आवश्यक तयारी पनि भैरहेको छ । केवरे आउने पर्यटकहरुले यहाँको मौलिक कला र संस्कृतिसहितको स्वागत एवम् स्थानीय खानाको स्वाद लिन पाउने छन् । यसैगरी यो क्षेत्रमा परापूर्वकालदेखिको प्रशिद्ध बालसिद्ध मन्दिर, रमणीय वातावरणसहितको बजारथुम्का, मनकामना मन्दिर, गुरुङ समुदायको मन्दिर क्हेंबु, साहसिक उडान प्याराग्लाइडिङको लागि उपयुक्त न्यौपानेडाँडालगायतका मनोरम स्थलहरु अवलोकन गर्न सकिन्छ । पूर्वी पाल्पाको रामपुर क्षेत्र, कालिगण्डकीको तटीय क्षेत्र, पर्वत एवम् हिमदृष्यहरु सहजै हेर्न पाइनु यहाँको मुख्य विशेषता रहेका छन् । योसँगै केवरे क्षेत्रलाई वालिङ नगरीकै आकर्षक गन्तव्यकारुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेकाले वडा कार्यालय प्रयासमा लागेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो । बजारथुम रानीवन जानका लागि सिँढी पदमार्गको साथै सडकसमेत खोलिसकिएको छ । यसैगरी बालसिद्ध मन्दिरसम्म पुग्नका लागि पनि सिँढीसहितको पदमार्ग र सडकगरी दुबै सुविधाको व्यवस्था गरिसकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत मिर्दीदेखि जम्मा ११ किलोमिटरको दुरीमा पक्की सडक सुविधा रहेको केवरे क्षेत्रमा ऐतिहासिक एवम धार्मिक महत्वसहितका शान्त र रमणीय स्थलहरु छन् । जसलेगर्दा पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने प्रचुर सम्भावना छ । संस्कृति संरक्षणको साथमा अन्य स्थानका लागि पनि नगरपालिका मार्फत सम्बन्धित निकायको सहयोग लिएर काम गर्ने प्रयासमा वडा कार्यालय लागि परेको उहाँको भनाई छ ।


Leave A Comment