pokhara news

सडक नाटक प्रदर्शनबाट सङ्कलित रकम वृद्धाश्रमलाई प्रदान

साउन—२३, स्याङ्जा ।
स्याङ्जाको वालिङमा रहेको साइनभिलेज इन्टरनेशनल एकेडेमी विद्यालयले सडक नाटक प्रदर्शनबाट सङ्कलित रकम राम्दीको बृद्धाश्रमलाई प्रदान गरेको छ । विद्यालयले नगद र जिन्सी गरी ३५ हजार ४ सय ३५ रुपैँया राम्दीको शिवपार्वती वृद्धाश्रमलाई हस्तान्तरण गरेको हो । जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन ४ गते वालिङ मोडमा समसामयिक विषयमा नाटक प्रदर्शनका साथै विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरेको थियो । उक्त नाटक प्रदर्शनबाट ४९ हजार ५ सय सङ्कलन भएको थियो । कार्यक्रम सञ्चालनमा १४ हजार ६५ खर्च भएको र बचत रकम तथा जिन्सी गरी ३५ हजार ४ सय ३५ रुपैँया बृद्धाश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवद्धाहरुको सहयोगार्थ सडक नाटक प्रदर्शन गरेको थियो । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु विभिन्न स्थानमा सञ्चाल गरी यसैगरी संस्थागत सहयोग गर्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शंकर श्रेठले बताउनुभयो । विद्यालयले बृद्ध बुवाआमाहरुको आशिर्वादबाट शुरु गरिएको भन्दै आगामी दिनमा यस्तै कार्यक्रम गरी अन्य क्षेत्रमा सहयोग गर्ने उहाँले बताउनुभयो । यस्ता कार्यक्रमबाट सकारात्मक सन्देश जाने, विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वमा सरिक गराउँदै उनीहरुको प्रतिभालाई उजागर गर्न सहयोग पुग्नेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कार्यक्रममा नाटक प्रदर्शनीको उद्देश्य, संकलन रकम, खर्चलगायतका विषयमा विद्यालय संयोजक तेजप्रसाद पंगेनीले प्रकाश पार्नुभएको थियो । सडक नाटक प्रदर्शनीमा उठेको रकम मध्ये १३ हजार ९ सय ३५ रुपैँयाको खाद्यान्न लगायतका जिन्सी र २१ हजार ५ सय नगद आश्रमलाई हस्तान्तरण गरिएको संयोजक पंगेनीले स्पष्ट पार्नुभयो ।
आगामी दिनमा क्रमशः रामबाच्छा, बयँरघारी, बायँटारीलगायतका मुख्य बजारहरुमा पनि समय मिलाएर गर्दै जाने भन्दै उक्त कार्यक्रमहरु अन्य क्षेत्रको सहयोगार्थ गरिने संयोजक पङ्गेनीले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक बनाउने उद्देश्यल एकेडेमीले अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
राम्दी स्थित आश्रममा ८ पुरुष र १५ महिला गरी २३ जना वृद्धवृद्धाहरुले आश्रय लिएर बस्दै आउनुभएको छ । आश्रममा विभिन्न व्यक्तिहरुले विवाह, जन्मोत्सलगायतका शुभ कार्य साथै दिवंगत पितृहरुको सम्झना तथा पुण्य तिथिमा पनि सहयोग गर्दै आएका छन् । आश्रमले एक दिन एक दाता अभियान अन्तर्गत हरेक दिन फरक दाताहरुबाट प्राप्त सहयोगले दैनिक भोजनको व्यवस्था गर्दै आएको आश्रमले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर