pokhara news

सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको छ— गण्डकी प्रदेश मन्त्री बस्याल

कात्तिक २६, वालिङ ।
गण्डकी प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले अहिले सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भएको छ । आज सोमबार वालिङ उद्योग वाणिज्य संघद्वारा वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका माननीय मन्त्री बस्यालले समाजमा समस्याहरु धेरै छन्, त्यसको पहिचान गरेर काम गर्नुपर्छ र त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “देशमा सम्भावनाहरु धेरै छन्, गर्न सकिरहेका छैनौं । समस्या र सम्भावनाहरुको पहिचान गर्न आवश्यक छ ।  गण्डकी प्रदेशले आवश्यक नीति बनाउन लागिरहेको छ । समस्याको पहिचान र सम्भावनाहरुको खोजी गरेर लाग्न गण्डकी प्रदेश सरकार लागिरहेको छ ।”
व्याबसायिक क्षेत्रमा देशभर समस्या भएको उल्लेख गर्दै मन्त्री बस्यालले अहिलेको सरकारले समाधानका बारेमा प्रयत्न गरिरहेको बताउनुभयो । स्याङ्जा र पर्वत छिमेकी जिल्ला मात्र नभएर अत्यन्त निकटको सम्बन्ध छ । वालिङको विकास हुनु भनेको समग्र स्याङ्जा जिल्ला  र पर्वतकोसमेत विकासमा टेवा पुग्ने उहाँको भनाई छ । युवा विदेशिनेको लर्को लाएको छ, यो किन भयो भनेर बुझ्न जरुरी छ । हामीलाई प्रकृतिले अथाह सम्भावना दिएर पनि किन कम्जोर छौं भनेर पनि जान्न आवश्यक छ । तत्काल समस्या समाधानको सम्भावना छैन, अहिले उद्योग र पर्यटन धरासायी भएका छन् । त्यसैले सरकारले समस्याको पहिचान गरेर काम गर्नुपर्छ भनेर लागि परेको मन्त्री बस्यालले बताउनुभयो ।
पुराना र रुग्ण अवस्थामा रहेका व्यावसायीहरुको हकमा घरेलु तथा साना किसान कार्यालयलगाएत सरकारलाई तिर्नुपर्ने बक्यौता करले समस्यामा पारेको आफूले बुझेको उल्लेख गर्दै गण्डकी प्रदेश मन्त्री बस्यालले सकेसम्म त्यस्ता व्यावसायीहरुको बक्यौता खारेजी गरी लिस्टबाट हटाउन पर्छ भनेर लागिपरेको बताउनुभयो ।
स्वागत तथा सम्मान कार्यक्रमका अवसरमा वालिङ उद्योग वाणिज्य संघको तर्फबाट व्यावसायीहरुका तिनै समस्यामा परेका व्यावसायीका समस्या समाधानको मागसहितको अनुरोध पत्रसमेत मन्त्री बस्याललाई हस्तान्तरण गरेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर