सुन्तला बगानमा रोगको महामारी, करोडको आम्दानी लाखमा
गोपाल जिटी
वालिङ–२३ पुस ।
पछिल्लो समय स्याङ्जा जिल्ला सुन्तलाबाट वार्षिक एक अर्ब भन्दा धेरैको आम्दानी गर्ने जिल्ला हो । यो वर्ष स्याङ्जा जिल्लामा सुन्तलाबाट रु. १ अर्ब ३० लाख भन्दा बढि भित्रिने सुपरजोनको आँकलन छ । गत वर्ष भन्दा २० करोडले बढी आम्दानी हुने राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको आँकलन गरेका छ । नयाँ प्रविधिको प्रयोग, रोग किराको नियन्त्रण र सिंचाईको व्यवस्थापनलगायतका कारण सुन्तला उत्पादानमा वृद्धि आएको सुन्तला सुपरजोनले जनाएको छ ।
गएको फागुनदेखि असिनाले असर नपर्नु, समयमा पानी पर्नुलगायत अनुकुल मौसमका कारण पनि उत्पादनमा वृद्धि आएको हो । तर केही ठाउँका बगानमा भने रोगको महामारीले करोडको आम्दानी लाखमा झरेको छ । योसँगै वषौं आम्दानी लिनेगरी गरेको किसानहरुको मेहेनतमा ब्रेक लागेको छ । जिल्लामा समग्रमा सुन्तलाको वृद्धि आएको सुपरजोनको आँकलन भए पनि कतिपय बगानमा रोगको महामारीले किसानहरुलाई समस्यामा पारेको छ ।
यसैबीच सुन्तला सुपरजोन अन्तर्गत वालिङ नगरपालिका ४ को खाल्टे गाउँ सुन्तला फलाएर राम्रो आम्दानी गर्ने ठाउँ हो । सुन्तलाकै कारण गाउँबासीको लागि जीविकोपार्जनको राम्रो आधार बनेको थियो भने गाउँ छोडेर बजार झर्नेहरुलाई फर्काउनेसम्मको वातावरण सिर्जना भएको थियो । खाल्टे गाउँमा मात्रै ३३ घरधुरी किसानहरुको मालिकादेवी उद्यमशील कृषक समूह छ । यहाँ फल दिने र फलदिने तयारीमा रहेका गरी करिव १५ हजार सुन्तलाका बोट छन् । विगतका वर्षमा करिव डेढ करोडको आम्दानी भएको थियो भने अहिले राम्रोसँग फलेका भए त्यो भन्दा धेरै आम्दानी हुने सहजै अनुमान गर्न सकिन्छ । तर यो वर्ष बोटहरुमा रोग लागेर उत्पादन निकै घटेकाले किसानहरुमा निराशा छाएको छ । अहिले सबैको गरेर जम्माजम्मी ३० लाखसम्म आम्दानी हुने अनुमान रहेको समूहका अध्यक्ष प्रेम गुरुङ बताउनुहुन्छ । आफ्नो ६० बोटले मात्रै वार्षिक ३ लाख भन्दा धेरै आम्दानी दिने गरेको उहाँको भनाई छ । अध्यक्ष गुरुङको करिव ५० रोपनीमा फल दिने तयारीका बिरुवा हुर्किरहेका छन् । उहाँका करिव ८ सय बोट आगामी वर्षदेखि फलदिने तयारीमा छन् । तर रोग फैलिएसँगै आफूलगायत समूहका सबै किसानलाई निराश पारेको गुरुङ बताउनु हुन्छ । गाउँ छाडेर वालिङ पोखरा तथा बुटवल गएकाहरु पनि फर्केर सुन्तला लगाउन थालेका थिए । केहीले लगाईसकेका थिए भने कोही आउने तयारीमा थिए । तर सुन्तलाका बोटमा रोग लागेर फाल्न वा हटाउनुपर्ने अवस्थाले सबैलाई निराश पारेको छ ।
सुन्तला सुपरजोन स्याङ्जाका अनुसार रोग लागेका सबै बोट काटेर फाल्नुपर्ने हुन्छ । भएका बोटहरुमा महामारीकै रुपमा रोग फैलिएर हटाउनुपर्ने भएपछि सबैजनालाई निराश पारेको हो । त्यसो त यो वर्षको वर्षातका समयमा औंशा किरा लागेर थप समस्या दिएको थियो । योसँगै अहिले अधिकांश सुन्तलाका बोटहरुमा भित्रि हाँगा सुक्ने, पात पहेंलिदै जाने र फल पनि राम्रोसँग नलाग्ने भएका छन् ।
अध्यक्ष गुरुङका अनुसार सुन्तलाका बोटमा रोग देखिएको ५ वर्ष जति भयो, अहिले त्यही रोग बढेर फैलिएको हो । रोग लागेदेखि सुन्तला सुपरजोनले बोट काट्न सुझाएको थियो । त्यसका लागि केही सहयोग पनि आएको हो । त्यसले मात्रै नपुग्ने भएपछि किसानहरुले पनि काट्न मानेनन्, सकेनन् । यतिसम्म कि एउटा गरामा वा प्लटमा भएका एक दुई वटा बोटमा रोग लागेको देखिएमा भएका सबै काटेर फाल्नुपर्ने सुपरजोनले सल्लाह दिएको थियो । सुपरजोनको सल्लाह अनुसार गर्न नसक्दा पनि अहिले ठूलो समस्या आएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
अब रोग नियन्त्रणका लागि समयमै ध्यान दिन आवश्यक हुन्छ र किसानहरुले पनि बुझ्नुपर्ने अध्यक्ष गुरुङको भनाई छ । यसका लागि रोग लागेका बोट कटान गर्ने र त्यसको नजिक रहेका बोटमा पनि रोग सरिसकेको हुने भएकाले ती बोटहरुसमेत हटाउने अभियानमा आफूहरु रहेको उहाँले उल्लेख गर्नुभयो । स्वादिलो सुन्तला, बगानको सुन्दरता र शान्त वातावरणमा यहाँ सञ्चालित सुन्तलाबारी होमस्टेमासमेत असर पुगेको छ । परीक्षण गर्दा माटो ठीक देखियो, अब पूराना सबै हटाएर नयाँ बिरुवा लगाउने सोंच बनाएको अध्यक्ष गुरुङको भनाई छ ।



Leave A Comment