सुन्तलीलाई सम्झिदा लाउँछ हाँसो आउँछ झलिको...
जेठ—६, वालिङ ।
करिव डेढ दशक पहिला भैंसी पालेर एलबमको “गर्नुग¥यौ बलराम भैंसी पालेर दुनियालाई ढाँटेर खाँटी दुधमा पानी हालेर” लोकदोहोरी सर्वाधिक चर्चा पाएको गीत हो । यो गीतले गाउँ वस्तीदेखि शहर बजार, सवारी साधनदेखि स्टेज कार्यक्रम र स्वदेशदेखि विदेशसम्म गाउने नाच्ने तथा नचाउने गरेको थियो । लोक गायक अर्जुन गैह्रेको यो गीतमा पुरुष आवाजमा राजु परियार र महिला तर्फ विष्णु माझीको स्वर रहेको थियो । अहिले उनै लोक गायक गैह्रेले अर्को कोशेली स्वरुप भैंसी पालेर भाग २ “भाग्य बलियो” सार्वजनिक गरेका छन् । उहि पात्रको अभिनय रहेको भाग्य बलियोका शव्द, सङ्गीत, अभिनय र गायकीलाई निकै मनोरञ्जन दिने देखिन्छ । लोकप्रियता कति पाउँछ, त्यो भविष्यले निर्धारण गर्ने कुरा हो ।
पेशाले शिक्षक गैह्रे राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका पूर्व अध्यक्ष हुन् । लोकगीतलाई शुक्ष्मरुपले नियाल्ने गैहे्रका लोक सिर्जनाले केही न केही नयाँपनको झल्को दिनु उनको विशेषता नै हो । यस्तै नयाँपनको साङ्गीतिक सुगन्धसहित उनको नयाँ गीति कोशेली भाग्य बलियो कमल गाउँले युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । भाग्य बलियोमा पुरुष आवाज स्वयम् गैह्रेले नै दिएका छन् भने महिला तर्फ शान्तिश्री परियारको रहेको छ ।
“के लाउँछ र भाग्य बलियो, सुन्तलीलाई सम्झिदा लाउँछ हाँसो आउँछ झलिको” गीतको स्थायी वा थेगो रहेको छ ।
भैंसी पालेर गीतको कथावस्तु अनि बलराम (कमल गाउँले) र सुन्तली (पल्पसा डङ्गोल) को कमेडियन अभिनय अहिले पनि धेरै दर्शक स्रोताको मन मनमा बसेको छ । लामो समयको अन्तरालमा उनै लोक गायक गैह्रेले पुनः अर्को सिर्जना सार्वजनिक गरेका हुन् ।
गाउँवस्तीको तथ्यमा आधारित भैंसी पालेर एक अव्वल सिर्जनाको परिचय बनाएको गीत हो । भाग २ ले पनि उही स्तर दिएको छ ।
लोक तथा दोहोरीगीतले समाजको कथा व्यथालाई मुखरित गरेको हुन्छ र गरिनुपनि पर्छ । किनकी यो हाम्रो मौलिक सम्पदा हो । त्यसो त विकृतरुपमा पनि केही गीत आउने गरेका पाइन्छन् । हरेक क्षेत्रको विकाससँगै विकृति पनि भित्रिने गरेको हामी सबैले देखेका छौं, लोक सिर्जनाका नाममा पनि त्यस्तो पाइन्छ । तर लोक सिर्जनाहरुले मनोविनोदसँगै समाजमा भए गरेका विकृति र विसङ्गति विरुद्धको सन्देश र सामाजिक मर्यादा कायम गर्दै जानुपर्छ ।
लोक गायक गैह्रेका सिर्जनाले गाउँसमाजका वस्तुगत अवस्था र समय सापेक्ष कथालाई शुक्ष्मरुपमा अङ्गालेको पाइन्छ । यस्तै अहिलेको भाग्य बलियोले पनि त्यस्तै कथावस्तु समेटिएको छ । यो गीतमा पनि उनै “बलराम” कमल गाउँले र पल्पसा डङ्गोल “सुन्तली” को अभिनय रहेको छ । म र मेरो टिमले निकै मेहेनत गरेको छ, आशा छ, धेरै दर्शक स्रोताहरुले साथ र मायाँ दिनुहुनेछ लोक गायक गैह्रे बताउँछन् ।
विभिन्न पेशा व्यवसाय गरेर वा त्यही पेशालाई मर्यादा विपरित गएर छिटो पैसा कमाउने र राजनीति गर्ने जस्ता विकृतीलाई भाग २ ले बोलेको छ । पन्ध्रवर्ष पछि भेट भएका बलराम सुन्तलीबीचको वार्तालाप यसरी हुन्छ—
महिलाः पन्ध्रवर्ष भयो होला गाउँ छोडेर गा को, दाम कमाएर बलराम त झन तन्नेरी भा को के लाउँछ र भाग्य बलियो, ए बलरामलाई सम्झिदा लाउँछ हाँसो आउँछ झलिको ।
पुरुषः तिमी पनि कम्ती छौ र नापे बराबर, बासी भात बेची बेची दरबार जत्रो घर
के लाउँछ र भाग्य बलियो, ए सुन्तलीलाई सम्झिदा लाउँछ हाँसो आउँछ झलिको ।
यसरी बलाराम र सुन्तलीबीच सवाल जवाफको थालनी गरिएको छ ।
यसैगरी महिला भन्छिन्— भैंसी पाल्दै छौ कि छाड्यौ के छ मेलामेसो, छाडेका त छैनौ होला मान्छे ठग्ने पेसो.....
जवाफमा पुरुष भन्छन्—भेट्नासाथै सुन्तलीले निहुँ खोजेकै हो त, सोझै गरी दाम कमाउने यो जुगमा को छ....... आदि आदि ।
अन्तिममा—पैसातिरै ¥याल काढियो गयो त्यतै ध्यान, पैसामात्रै केही रैनछ बल्ल पाइयो ज्ञान....
तिम्ले बेच्यौ बासी भात मैले हालें पानी, अरबपति मान्छे पनि खाली हात हो जानी... गाएपछि गीत सकिन्छ ।
भाव अनुसार सरल शव्दमाला, खारिएको अभिनय, कथाले मागे वमोजिमका स्थलगत दृष्य र लय अनि उस्तै सङ्गीत संयोजनले फेरि पनि लोक गायक गैह्रेको भाग्य बलियोले फेरि पनि धेरै दर्शक स्रोताको मन जित्ने अनुमान गर्न सकिन्छ ।



Leave A Comment