pokhara news

सुरुभयो उत्तरवाहिनीमा गण्डकी महामेला दामोदर धर्माेत्सव

वालिङ,२१ असोज–मालुङ्गा स्याङ्जा र असेर्दी पाल्पाको सङ्गमस्थल उत्तरवाहिनीमा गण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ विधिवत शुभारम्भ भएको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान गल्याङ १, स्याङ्जा र रम्भा गाउँपालिका १, पाल्पाको आयोजनामा गरिएको गण्डकी महामेला दामोदर धर्माेत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुने छ । एक महिनासम्म सञ्चालन हुने महामेला दामोदर धर्माेत्सव सामुहिकरुपमा शुभारम्भ गरिएको छ । गल्याङ नगरपालिकाका प्रमुख गुरु भट्टराई र रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा संयुक्तरुपमा दीप प्रज्ज्वल गरी महामेला शुभारम्भ गरिएको हो । समुद्घाटनमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापा, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीर्घकालीन सोंचसहित आयोजना गरिएको महामेलामा सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु हुनेछन् । एक हजार भक्तजनहरुका लागि आवास र साधनाहसहितको धर्मशाला, सनातन संस्कृति संरक्षणको लागि गुरुकुलम् पाठशाला, देव कार्यका लागि यज्ञशाला, गौमाताको संरक्षणक लागि गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको हो । कार्यक्रम अवधिभरमा १ करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरुपका पवित्र कार्यहरुमा लगानी गरिने छ ।
दामोदर महामेला धर्मोत्सवको शुभारम्भ गर्दै हरिहर सन्यासाश्रम देवघाटका पिठाधिश ज्ञानानन्द स्वामीज्यूले
धर्मोत्सवमा पाँच अरब तुलसीदान, गाईको दूध र गण्डकीको जलद्वारा सवालाख शालग्राम भगवानको अभिषेख पूजन गरिने छ । यसैगरी उत्तरवाहिनी मास्नान, उत्तरवाहिनी पूजन, तर्पण, परिक्रमा एवम् तीर्थ श्राद्ध, चारवेद अठाह्र पुराण पाठ पारायण हुनेछ । धनधान्याचल महायज्ञ तथा लक्षवर्ती, नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीर्वचन प्रदान गरिने आयोजकको कार्यक्रम रहेको छ । आयोजकका अनुसार गोपाल भट्ट, गोस्वामी स्मृतिघाट उद्घाटन हुनेछ भने ग्रहशान्तिका लागि नृसिंह पूजन, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक आरतीकासाथै श्रीकृष्णलीला, गौरलीला एवम् रामलीला प्रदर्शन गरिने छ । योग एवम् बालसंस्कार प्रशिक्षण, सन्त सम्मेलन, अखण्ड हरिनाम संकीर्तन तथा मातापिता पूजन कार्य हुनेछन् । देवघाट, रुरुश्रेत्र, मुक्तिनाथ, पशुपतिनाथ, स्र्गद्वारीलगायतका तीर्थस्थल दर्शनको व्यवस्था हुने छ । 
महामेला शुभारम्भमा सन्त गुरुहरुको साथमा नौमती बाजासहित स्थानीय आमा समूह, विद्यार्थीहरु, समाजसेवी तथा सरोकारवाला महानुभावहरुको सहभागितामा कलशयात्रा गरिएको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर