स्थानीय उत्पादन प्रवद्र्धनमा ड्रागन फ्रुट खेती प्रभावकारी बन्दै
साउन १२, वालिङ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिएको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुट (सिउडी फल) खेति प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि ४ नम्वर वडाको बिर्घामा नमूना ड्रागन फ्रुट बगैंचा सञ्चालनमा ल्याएसँगै कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुट (सिउडी फल) खेति प्रभावकारी बनेको हो ।
जग्गा बाँझो नराखौं, उत्पादनमा लागौं, व्यवसायसँगै आम्दानी गरौं भन्ने सन्देश दिन १५ वर्षका लागि जग्गा भाडामा लिएर बगैंचा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । बगैंचा हेरालुका रुपमा २ जना नियमित कर्मचारी छन् भने बगैंचा गोडमेल तथा स्याहार सुसार गर्न ज्यालादारीमा मजदुरको प्रयोग गरिदै आइएको छ । जसलेगर्दा स्थानीय स्तरमा कामको अवसर प्राप्त भएको अध्यक्ष थापाको भनाई छ ।
बगैंचाका लागि सुरुमा रौटहतदेखि बिरुवा ल्याइएको हो, अब यही बगैंचामा नर्सरी सञ्चालनमा ल्याएर बिरुवा उत्पादन गरिएको छ । यहाँ उत्पादन भएका बिरुवा ५० प्रतिशत अनुदानमा पालिकाले किसानहरुलाई उपलव्ध गराउँदै आएको छ । वडावासीहरुमा पनि ड्रागनफ्रुट लगाउने क्रममा वृद्धि हुँदै आएको छ । वडा नम्वर १ र ५ का किसानहरुले ड्रागनफ्रुट लगाएर उत्पादन लिन थालिसकेका छन् भने अरु वडाका किसानहरुले पनि सुरु गरेका छन् अध्यक्ष थापाले भन्नुभयो । यसकासाथै ड्रागनफ्रुट लगाएर राम्रो आम्दानी लिन सकिन्छ भन्ने वडावासीहरुमा विश्वास बढ्दै आएको उहाँले उल्लेख गर्नुभयो । यसरी किसानहरुलाई उत्पादनमा जोड्दै लैजाने र स्थानीय स्तरमै आयाआर्जनको वातावरण सिर्जना गर्नु गाउँपालिकाको ध्येय रहेको अध्यक्ष थापाको भनाई छ ।
यतिबेला पाकेर रातै भएका ड्रागन टिप्ने र बजार पठाउने कामले कर्मचारीहरुलाई व्यस्त बनाएको छ । यहाँको ड्रागन फ्रुट स्वादिलो र मिठो भएकाले उपभोक्ताहरुबाट निकै माग आउने गरेको छ । बगैंचामा नियमितरुपमा काम गर्ने २ जना कर्मचारी छन् । असारको तेस्रो सातादेखि नै यहाँका कर्मचारीलाई टिप्ने र फल बिक्रि गर्ने कामले व्यस्त बनाएको छ । साथै आवश्यकता अनुसार दैनिक ज्यालादारीमा अरु कामदारहरुलाई पनि काम दिने गरिएको छ । योसँगै “नमूना ड्रागन फ्रुट बगैंचा” गाउँबासीका लागि रोजगारीको माध्यम बनेको छ ।
गतवर्ष यहाँको ड्रागन फ्रुट बुटवल र पोखरा पठाउनु परेको थियो । अहिले भने धेरैजसो गाउँमै बिक्रि हुने गरेको छ । यसकासाथै जिल्लाका पुतलीबजार, बयँरघारी, वालिङ तथा गल्याङ बजारमा खपत हुनेगरेको छ । केही मात्रामा पोखरा र काठमाडौंसम्म पनि पुग्ने गरेको छ । ड्रागन फ्रुटको गुण र महत्वको बारेमा उपभोक्ताहरुले बुझ्दैजाँदा धेरैजसो स्थानीय बजारमै खपत हुन थालेको छ । आफन्तलाई कोशेलीकारुपमा पाकेको ड्रागन पठाउने प्रचलनको विकास हुँदै आएको छ ।
यहाँको नमूना ड्रागन फ्रुट बगैंचा २४ रोपनीमा फैलिएको छ । १६ सय पीलरमा कूल ४ हजार ८ सय बिरुवा लगाइएको छ । जसमध्ये करिव ४ हजार बोटले फल दिएका छन् । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७६÷०७७ देखि बगैंचा सञ्चालनमा ल्याइएको हो । २०८१ देखि फल्न थालेको ड्रागनले विशेषगरी गतवर्षदेखि आम्दानी दिएको हो । गतवर्ष ८ लाख बराबरको आम्दानी दिएको बगैंचाले यो वर्ष त्यो भन्दा धेरै राम्रो आम्दानी दिने अनुमान गरिएको यहाँ कार्यरत कर्मचारी गम्मरसिं थापा बताउनुहुन्छ । प्रतिकिलो रु. ३ सय ५० मा थोक बिक्रि गरिएको थापाको भनाई छ ।
पहाडी हावापानीमा फलेका ड्रागन धेरैले रुचाएका छन् । त्यसैले अहिले धेरै उपभोक्ताहरु बगैंचामै लिन आउने गर्दछन् । स्थानीय बजार मिर्मीदेखि गल्याङ, वालिङ, स्याङ्जा र पोखरासम्म जाने गरेको पाकेको ड्रागन टिप्दै गर्नुभएका बगैँचाका टुकनारायण भट्टराई बताउनुहुन्छ । असारदेखि कात्तिकसम्म फल दिइरहने र बजारको पनि समस्या नहुने भएपछि किसानहरुमा ड्रागनफ्रुट खेती प्रति आकर्षण बढेको भट्टराईको भनाई छ ।
आर्थिक वर्षः २०७६÷०७७ मा संघीय सरकारको सशर्तः रु. ३३ लाख ७५ हजार ३ सय ४२ रुपैयाँको लगानीबाट बगैचा सञ्चालनमा ल्याईएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा पुनः संघीय सरकारको सशर्त अनुदानः रु. ३७ लाख १४ हजार २ सय ३१ रुपैयाँ लगानी वृद्धि गरिएको हो । यसैगरी गाउँपालिकाको तर्फबाटः पनि ९ लाख ८९ हजार २ सय २४ रुपैयाँ लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।



Leave A Comment