स्याङ्जाप्रतिको अभिभारा र ऋण तिर्न लागिपर्ने—अर्थमन्त्री पौडेल
फागुन २, वालिङ ।
नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्याङ्जाप्रतिको अभिभारा र ऋण तिर्न लागिपर्ने बताउनुभएको छ । शुक्रबार बिरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आफ्नो जन्मभूमि भएको स्मरणसहित उहाँले स्याङ्जाप्रतिको अभिभारा र ऋण तिर्न लागिपर्ने बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले उद्घाटन एउटा औपचारिकता भएपनि प्रशासकीय भवन जनताको र जनप्रतिनिधिको साझा कार्यालय भएको धारणा राख्दै सुविधाजनक ढंगले गुणस्तरीय सेवा प्रदान गर्न सदुपयोग हुने विश्वास गर्नुभयो । अर्थमन्त्री पौडेलले विकसित र समृद्ध बिरूवाको निर्माणको निम्ति गाउँपालिकाले बुझाएको मागपत्र अनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय धेरै पटक उठेको उल्लेख गर्दै उहाँले अब काम हुनेगरी सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गको नेपालकै पूरानो राजमार्ग हो । यसले स्याङ्जासँगै पोखरादेखि लुम्विनीको महत्वपूर्ण सडक हो, यसको स्तरोन्नति अपरिहार्य छ ।”
घुम्ती सुधार गरेर डेडिकेटेड डबल लेनको सडक बनाउने गरी सरकार अगाडि बढीरहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । सडक स्तरोन्नति पश्चात् १ घण्टा ३० मिनेटमै पोखरा बुटवल यात्रा गर्न सकिने उहाँले व्यक्त गर्नुभयो । यसैगरी उहाँले ज्याग्दी करिडोरको विकासका लागि संघीय सरकारको योजनामा समावेश गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
कार्यक्रममा संघीय सांसद राजु थापा संघीयताले गाउँगाउँमा प्रशासकीय सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको बताउनुभयो । २०४८ साल यता देशमा धेरै भौतिक विकास भएको उल्लेख गर्दै बिरूवाको समृद्धिको लागि ज्याग्दी करिडोर र तटबन्धनलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेललाई अनुरोध गर्नुभयो । यसैगरी, सांसद थापाले समग्र स्याङ्जाको विकासको लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले केही मानिस वा समूहले देशमा केही पनि भएको छैन भन्ने भाष्य गलत भएको दावी गर्नुभयो । हामीले सोंचेजस्तो हुन नसकेको होला तर २०४८ पछि सडक यातायात, शिक्षा, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा धेरै विकास र परिवर्तन भएको कुरा सुझबुझसहित स्वीकार गर्नुपर्ने उहाँको भनाई थियो ।
नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री पदमा कुमारी अर्यालले गाउँपालिकाको प्रशासकीय भवन विकास समृद्धि र सहकार्यको प्रतीक भएको बताउनुभयो । अर्यालले योजनाबद्ध र व्यवस्थित विकास गर्न गाउँपालिकालाई सुझाव दिदै गाउँपालिकाको समृद्धि र विकासमा साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., संघीयता पश्चात् जनताले घरदैलोमै प्रशासकीय सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । खानेपानी, सडक, संचारको राम्रो विकास भएको भएपनि जनताको अपेक्षा अनुसार काम हुन बाँकी रहेको बताउनुभयो । ठूला उद्योगपतिलाई पोस्ने बजेट भन्दा गाउँमा बस्ने कृषक, सर्वसाधारणको हित हुने बजेट निर्माण गर्न र स्वास्थ्य र शिक्षालाई सर्वसुलभ बनाउन अर्थमन्त्री पौडेललाई अनुरोध गर्नुभयो ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पालिकाको समृद्धिको लागि विभिन्न रणनीतिक महत्वका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल , पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकासको लागि बजेट विनियोजन गर्न अनुरोध गर्दै अर्थमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो ।
यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासकीय भवनमा सुरक्षा गार्ड र क्यान्टिन सहित २९ कोठा रहेका छन् । ७ करोड ९९ लाख ७० हजार १ सय ८१ रूपैयाँ लागतमा निर्माण भएको भवन निर्माणका लागि गिताश्री कृयटिभ जेभी कन्स्ट्रसनले २०७७ असार ३१ गते सम्झौता गरी निर्माण भएको थियो । २०८० मसिंर ९ मा निर्माण सम्पन्न भएको भवनबाट २०८१ साउन १ गतेदेखि सेवा प्रदान गर्दै आइएको छ ।


Leave A Comment