pokhara news

स्याङ्जामा एचपिभि खोप अभियान अभियान— २०८१ सम्बन्धी अभिमुखीकरण

माघ १७, वालिङ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले एचपिभि खोप अभियान—२०८१ का बारे अन्तरक्रिया एवम् गोष्ठि गरेको छ । 
जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण एवम् पत्रकार तथा सञ्चारकर्मीहरुबीच अन्तरक्रिया गोष्ठि आज विहिबार कार्यालय परिसरमा आयोजना गरिएको हो ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहमा खोप लगाईने भएको हो । देशभर यो खोप अभियान यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिईँदैछ ।
कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सर बारे जानकारी, संक्रमणका लक्षण, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमिसाथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।  
उहाँका अनुुसार जिल्लाका सबै पालिकाहरुको अभिलेख तयार भैसकेको छ भने सत प्रतिशतलाई खोप लगाइने लक्ष्य लिइएको छ । भोलि शुक्रबारसम्म जिल्लाका सबै पालिकाहरुहरुमा खोप उपलव्ध गराइसकिने छ ।
जिल्लाका ११ वटै पालिकामा गरेर जम्मा ९ हजार ३ सय १९ जनालाई एचपिभी खोप दिइने छ । यो खोप कक्षा ६ देखि १० सम्म अध्ययनरत बालिकाहरुलाई लगाइने छ । उमेरको हकमा १० देखि १४ वर्षसम्मलाई यो खोप दिइने छ । यो खोपको प्रभाव विशेषगरी ४० देखि ४५ वर्षको उमेरमा देखिने छ । खोप लगाईसकेपछि खोप कार्ड सुरक्षित राख्नुपर्ने स्याङ्जाका जनस्वास्थ्य प्रमुख चापागाईंले बताउनुभयो । 
कार्यक्रम अनुसार हरिनास गाउँपालिकामा २२ देखि २४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । यसैगरी आँधीखोला, अर्जुनचौपारी, कालीगण्डकी र बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकामा २२ देखि २५ गतेसम्म एचपिभी खोप लगाइने छ । यस्तैगरी पुतलीबजार, वालिङ, भीरकोट र चापाकोट नगरपालिका र फेदिखोला गाउँपालिकामा २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । योसँगै २७ गतेसम्म स्याङ्जाका ११ वटै पालिकामा एचपिभी खोप अभियान २०८१ सम्पन्न गरिने छ । 
जिल्लाका ३ सय १९ खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइने छ  ।  लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुलाई परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा र अन्त्यमा यहाँका स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था छ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रोग लागेर लाखौँ खर्च गरेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उपयुक्त भएको भन्दै खोप अभियानलाई सफल बनाउन सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर