pokhara news

स्याङ्जामा प्रचारप्रसारमा कडाइ

स्याङ्जा, फागुन २० — प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

मौन अवधि प्रारम्भ भएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गर्दै प्रचारप्रसारमा कडाइ गरेको जनाएको छ। मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा कुनै पनि प्रकारका प्रचारात्मक गतिविधि गर्न नपाइने स्पष्ट पारिएको छ।

स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार मौन अवधिमा निर्वाचनसँग सम्बन्धित सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी आयोजना गर्न पूर्ण प्रतिबन्ध रहेको छ।

प्रशासनले सूचना जारी गर्दै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउन आग्रह गरेको छ। यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्ने, प्रचार–प्रसार गर्ने तथा प्रभाव पार्ने गतिविधि गर्न नपाइने जनाइएको छ।

त्यस्तै, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनले कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिबाट दान, उपहार लिन वा दिन नहुने स्पष्ट पारेको छ। निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेका सबै गतिविधि मौन अवधिमा पूर्ण रूपमा बन्द रहने बताइएको छ।

आचारसंहिताको उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै स्याङ्जा प्रशासनले सभ्य, शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैसँग सहयोगको अपिल गरेको छ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर