pokhara news

स्याङ्जामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लक्ष्य भन्दा बढि फछ्र्यौट, न्यायाधिश पौडेल सम्मानित

साउन ३, स्याङ्जा
स्याङ्जामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका जिल्ला अदाललतका माननीय न्यायाधिश वासुदेव पौडेलले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा मात्र ४ सय ६५ सम्बन्ध विच्छेदका मुद्दा परेका बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत न्यायाधिश पौडेलले जानकारी गराउनु भएको हो । यसैगरी वैवाहिक सम्बन्ध अन्त्यका ८५ र अंश मानाचामलका ७१ वटा मुद्दा परेका थिए ।
अन्य प्रकृतिका र अघिल्ला आर्थिक वर्षमा बाँकि रहेकासमेत गरी जम्मा १ हजार ३ सय ५५ मध्ये १ हजार ४ वटा मुद्दा फछ्र्यौट भएका जिल्ला न्यायाधिश पौडेलले बताउनुभयो । ८ सय ७१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा १ हजार ४ मुद्दा फछ्र्यौट भएको र लक्ष्यभन्दा १ सय ३१ थान मुद्दा बढी फछ्र्यौट भएका हुन् । अब जम्मा ३ सय ५१ मुद्दा बाँकि रहेका छन् भने कूल फछ्र्यौट मुद्दाको प्रतिशत ७४ रहेको छ । 
न्यायाधिश पौडेल २०८० कात्तिक १२ गते जिल्ला अदालत स्याङ्जामा हाँजिर हुनुभएको थियो । यसरी छोंटो समयमै सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गर्न सफल भएकाले उच्च अदालत पोखराले यही साउन १ गते न्यायाधिश पौडेललाई सम्मानपत्रले सम्मान गरेको छ । उच्च अदालत पोखरा मातहतका जिल्लाहरु मध्ये सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएकाले न्यायाधिश पौडेल सम्मानित हुनुभएको हो ।
न्यायाधिश पौडेलका अनुसार सम्बन्ध विच्छेदका अधिकांश मुद्दाहरु वैदेशिक रोजगारीमा रहेका श्रीमान श्रीमतीबीचका आउने गरेका छन् । पुरुषले चाहँदा ढिलो र महिलाले चाहँदा छिटो मुद्दा टुङ्गिन्छ भन्ने हुन्छ र ? भनी सोधिएको प्रश्नको जवाफ दिदै न्यायाधिश पौडेलले त्यस्तो नहुने बताउनुभयो । कारणका आधारमा समान समयमा मुद्दाको टुङ्गो लाग्ने उहाँले स्पष्ट पार्नुभयो । 
परेका मुद्दालाई छिटो छरितो फछ्र्यौट गर्न लाग्छौं, उहाँले भन्नुभयो,“ अदालत संस्था हो, हामी आउँछौं जान्छौं तर अदालतको शीर उचो राख्न प्रतिवद्ध छौं ।” अब आउने पेशी स्वचालित बनाइने पनि न्यायाधिश पौडेलले बताउनुभयो । यसका लागि कर्मचारीहरुले कमिटी गठन गरिसकिएको छ, कम्प्युटर पद्दतिमा स्वचालित गराउने कार्य योजना बनाइएको उहाँको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर