स्वादिलो सुन्तला र पाउँदुर ओडारेका रिजाल
गोपाल जिटी
वालिङ–२१ पुस ।
नेपालका हिमाली जिल्लामा स्याउ फलेझैं स्याङ्जाका अधिकांश पहाडी क्षेत्रमा सुन्तला फल्ने गर्दछन् । यहाँको हावापानी र माटो सुन्तलाखेतीका लागि निकै राम्रो छ । किसानहरु पनि सुन्तलाखेतिलाई मुख्य पेशा बनाएर लागेका छन् । स्याङ्जा जिल्ला स्वादिलो सुन्तला उत्पादन हुनेमध्येमा पर्दछ । पछिल्ला केही वर्षयता जिल्लामा सुन्तलाबाट मात्र वार्षिक करोडौं भित्रिने गर्दछ ।
जिल्लाका क्रियाशील किसानहरुमध्ये वालिङ नगरपालिका वडा नम्वर ४ पाउँदुर ओडारेका खेमनारायण रिजाल पनि एक हुनुहुन्छ । ६२ वर्षीय रिजालले विगत २३ वर्षदेखि सुन्तलाखेतीलाई मुख्य पेशा बनाएर लाग्नुभएको हो । त्यो भन्दा पहिला १८ वर्ष तरकारी खेती गरेको रिजालको अनुभव छ । तरकारी खेतीसँगै कृषि कर्मको अनुभवी रिजाल २०६० सालदेखि सुन्तला खेती सुरु गर्नुभएको हो । खेती लगाउनदेखि बजारीकरणसम्मको अवस्थालाई हेर्दा तरकारीको तुलनामा सजिलो हुने भएकाले पनि सुन्तला खेति प्रति मन जागेको रिजाल बताउँनुहुन्छ ।
अहिले रिजालको बगानमा ३ सय ५० बोटले फल दिएका छन् । अरु थप ५ सय बिरुवा पनि आगामी वर्षदेखि फल्ने तयारीमा छन् । उहाँको सुन्तला बगान आफ्नो र अरुको गरी १४ रोपनी क्षेत्रफलमा छ । पहारिलो पाखामा लटरम्म फलेका स्वादिला सुन्तला पाकेर पहेंपुर भएका छन् भने अहिले टिपेर बजार पठाउने काम भैरहेको छ । यो वर्ष करिव ७ लाखको आम्दानी हुने रिजालको अनुमान छ ।
रिजालले बगानमा सुन्तलासँगै घुसुवा बालीकारुपमा अदुवा तथा खुर्सानी र बेसारसमेत फलाउनुहुन्छ । उहाँका तीन छोरा र एक छोरी छन् । चारैजना यही कृषि कर्मको माध्यमबाट आ–आफ्ना खुट्टामा उभिने भएका हुन् । योसँगै रिजालका घरआँगनमा मौरीका घारहरु पनि देख्न पाइन्छ । गाउँघरमा वन जङ्गल एवम बनस्पतिको खाँचो हुने कुरै भएन, जुन मौरीका लागि अति आवश्यक हुन्छ । त्यसैले रिजालको घरमा साढे दुई दर्जन त गोलासहितका मौरीका घार छन् । गत वर्षदेखि आधुनिक घार विस्तारमा लाग्नुभएका रिजाल ६ वटा मुढे घारबाट मात्रै वर्षमा ४५ देखि ५० किलोसम्म मह निक्लने सुनाउनुहुन्छ ।
यसकासाथै रिजालको कृषि कर्म प्रतिको त्याग, जाँगर र सीप साँच्चै मननयोग्य देखिन्छ । उहाँको काम गराई र उत्पादनलाई हेर्दा दक्षतासँगै एक सफल कृषकको परिचय दिन्छ ।
पाउँदुर, एलादी, तलाथोकलगायतका क्षेत्रमा गतवर्षको तुलनामा अहिले सुन्तलाको उत्पादन बढेको छ । सोही अनुसार आम्दानी पनि धेरै हुने अनुमान छ । गतवर्ष ३ करोड भन्दा धेरैको आम्दानी भएको थियो भने अहिले उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अनुमान छ । यो वर्ष असिनाले असर गरेन र फल पनि राम्रो भएको रिजालको भनाई छ ।
माटो र हावापानी अनुसार उत्पादनमा अझ वृद्धि ल्याउनका लागि सिंचाईको सुविधा र पर्याप्त मात्रामा प्राविधिक सल्लाहको खाँचो रहेको खेमनारायणको भनाई छ । उहाँ भन्नुहुन्छ, “यहाँको मुख्य समस्या सिंचाई हो । सिंचाइको सुविधा हुने हो भने अहिलेको दोव्वर उत्पादन र सोही अनुसारको आम्दानी लिन सकिन्छ । यसकासाथै बाक्लो किसिमबाट प्राविधिक सल्लाह उपलव्ध भएको खण्डमा यहाँका किसानहरु लाभान्वित हुनेछन् । जसले गर्दा किसानहरु अझ उत्साही भएर उत्पादनमा लाग्ने वातावरण सिर्जना हुने छ । त्यसैले राज्यले सिंचाईको व्यवस्था र पर्याप्त मात्रामा प्राविधिक सल्लाहको व्यवस्था गरिदिओस् ।”
हाम्रा जमिनहरु धेरै खाली छन् । गाउँका भाइ छोराहरु पैसा कमाउनका लागि विदेश गएका छन् । सुन्तला खेतीबाट कम लगानीमा धेरै आम्दानी लिन सकिन्छ । महिनामा एक दुई लाख कमाउनका लागि कहिं जानुपर्दैन, आफ्नै घर परिवारसँग बसेर सजिलो गरी आय आर्जनसहित जीविकोपार्जन गर्न सकिने रिजालको भनाई छ ।
आफ्नै गाउँठाउमा गर्नुपर्छ सुन फलाउन सकिने उहाँकि श्रीमती तुलसी रिजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै मिलेर गर्ने हो भने यही सुन फल्छ, विदेशिनु पर्दैन । आफ्ना परिवारको काखमा बस्न पाइन्थ्यो । अहिले छोराछोरी कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ ।” सँगीसाथीहरुको सिको गरेर रिजालका छोराछोरीहरु पनि कमाई धमाईका लागि बाहिरतिर लागेका छन् । सुन्तलासँगै कृषि कर्ममा रमाएका छौं बुढाबुढी खुसी नै छौं । कमाई धमाईका लागि केही समय बाहिरतिर लागे पनि आफ्नो धरातल सम्झनेमा श्रीमती रिजालको विश्वास छ ।



Leave A Comment