pokhara news

हराउँदै बरपिपल चौपारी, संरक्षण र संवर्धन जरुरी

मङ्सिर—२४, वालिङ ।
पहिले पहिले बाटोका छेउछाउमा हुने चौपारीहरु अहिले हराउँदै गएका छन् । विशेषगरी बटुवाका लागि केहिबेर सुस्ताउन र थकाई मेटन्का लागि बिसाउने बरपिपल चौपारीहरु ठाउँ ठाउँमा बनाइएका हुन्थे । पूर्वजहरुद्वारा शितल छहारीमा बिसाउन बनाइएका ती बरपिपल चौपारीहरु पहिला जस्तो देख्न पाईंदैन । 
सडक विस्तार नहँुदाको अवस्थामा टाढा टाढाको बाटो पनि पैदलै हिड्नुपर्ने अवस्था थियो । त्यसैले तत्कालिन समयमा ठाउँ ठाउँमा बनाइएका तिनै शितल चौपारीहरुको निकै महत्व हुने गर्दर्थे । करिव आधा घण्टा पैदल हिडेपछि अर्को चौपारी भेटिन्थे । त्यही चौपारीमा केहीबेर सुस्ताएपछि फेरि आफ्नो यात्रा अगाडि बढाउने गरिन्थ्यो । यसरी ठाउँ ठाउँमा बनेका बरपिपल चौपारीहरु हाम्रा पूर्वजहरुका यात्रामा साहरा बन्दथे ।
अहिलेको बदलिदो समय र विकास निर्माणका क्रममा गाउँ गाउँमा सडक विस्तार भएका छन् । जसले गर्दा उतिबेला जस्तो पैदल हिड्नुपर्ने अवस्था छैन, बाटोघाटो खुलेसँगै टाढा नजिक सबैतिर यात्राका लागि सहज भएको छ । तर ती बर पिपल चौपारीहरु बिसाउनका लागि मात्र नभएर मानव जीवनका लागि उपयोगी र महत्वपूर्ण वृक्षमा पर्दछन् भन्ने जानकारहरु बताउँछन् । सडक यातायातको विकास हुनु राम्रो कुरा हो, योसँगै बरपिपल समीको संरक्षण पनि आवश्यक छ, जुन वैज्ञानिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । एक त बिकास निर्माणसँगै बदलिदो अवस्था र अर्को मानिसहरुमा बर पिपल समीको महत्वको बारे ज्ञानको कमि हनुले पनि शितल चौपारीसँगै बर पिपल समी हराउदै गएको अनुसन्धाताहरुको विचार छ । 
अरु बोट बिरुवा नलगाएर बरपिपल समी नै किन लगाइयो ? किन बरपिपल समीलाई नै महत्व दिइयो होला ? अरु बोट बिरुवा भन्दा बर, पिपल र समी नै लगाइनुको कारण के छ ? बदलिंदो समय र बिकाससँगै बरपिपल समीको महत्व रहँदैन त ? यी र यस्ता प्रश्नहरु हामी सबैमा उव्जन सक्छन् । 
हरेक वनस्पति उम्रिन्छन्, हुर्कन्छन् बढ्दैजाँदा बुढा हुन्छन् अनि सुकेर समाप्त हुन्छन् । यसैगरी मानव जीवन र सम्पूर्ण चराचरहरुको पनि जीवन व्यतित हुने गरेका देखिन्छन् । यसरी हेर्दा प्रकृतिका उपजसँगै मानव सभ्यतासँग जोडिने भएकाले बिभिन्न बोटबिरुवा एवम् वनस्पतिका सन्दर्भमा सुझबुझ हुनु आवश्यक देखिन्छ ।
त्यसोभए बरपिपल समी के हो त ? यसको महत्व के छ ?
बरपिपल समीको वास्तविकताका सन्दर्भमा पण्डित नेत्रप्रसाद पराजुली यसो भन्नुहुन्छ—
हाम्रा पूर्वजहरुले बर पिपल समी रोपण गरी वैवाहित सम्बन्ध गराएर हरेक ठाउँ ठाउँमा चौपारीको रुप दिनुहुन्थ्यो । प्रत्येक आधा घण्टाको पैदलमार्गमा चौपारी निर्माण गर्नुहुन्थ्यो, जुन शितलताको लागि भनेर बुझिन्थ्यो । त्यो मात्र नभएर त्यसको वैज्ञानिक कारण के छ भने पिपलबाट मानव कल्याणसहित चराचर जगतका लागि प्रशस्त अक्सिजन प्राप्त हुन्छ । समिबाट मानवभित्र रहेका रोगहरु निर्मुल पार्नका लागि शक्ति प्राप्त हुन्छ भने त्यसैगरी बरको रुखको शालीनताले सकारात्मक तरङ्ग पैदा गर्दछ । यसका लागि हाम्रा पूर्खाहरुले धेरै अनुसन्धान गरेर प्रमाणिकृतरुपमा सार्नुहुन्थ्यो, चौपारी बनाउनुहुन्थ्यो र पूजन गर्नुहुन्थ्यो । 
अहिले आएर बाटोघाटोमा बर पिपल मासिने क्रम जारी छ । तर यसलाई मानव सभ्यतासँग जोडिएको हुँदा, बर पिपल समी लगाउनुपर्छ, चौपारीहरु बनाउनुपर्छ । वृक्षको हरियाली जोगाउनुपर्छ । जसबाट मानवको कल्याण हुन्छ, त्यसबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यता हामीले राख्दछौं र वैदिक सनातनीहरुले राख्नुुपर्दछ । त्यो मात्र नभएर सम्पूर्ण जीवनको कल्याणका लागि जीवनदान दिनेकारुपमा बरपिपल समीलाई लिनुपर्दछ । पक्कै पनि पछिल्लो समय यसको घट्दो क्रम हो, यसलाई जन जनमा बुझाउन जरुरी छ । यो बिभिन्न किसिमबाट अनुसन्धानात्मक कार्यहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारसम्म र विद्यालय, विश्वविद्यालय स्तरमा चेतना फैलाउन अत्यन्त जरुरी देखिन्छ ।
यसैगरी धार्मिक हिसाबले पिपललाई विष्णु भगवानको स्वरुप भन्ने र मान्य गछौं । प्रत्येक शनिबार भगवान विष्णु पिपलको सान्निध्यमा रहनुहुन्छ । त्यसैले शनिबार पिपलको पूजा गर्दा लक्ष्मी र नारायणको दर्शन हुन्छ । जसले मानवका हरेक कुराहरु सुख शान्ति, समृद्धि र आयूको वृद्धि हुन्छ । अर्को कुरा पिपलमा भएको अक्सिजनको मात्रा र सकारात्मक सोंच तथा चिन्तनसँगै मानवभित्र रहेका उकुसमुकुसलाई निस्तेज गराउन सक्ने क्षमता राख्दछ । यसका साथै सकारात्मक उर्जा प्रदान गर्ने हिसाबले पनि पिपललाई लिइएको छ । धार्मिक हिसाबले लक्ष्मी नारायणलाई प्रशन्न बनाउनका निमित्त पूजा गरिन्छ ।
यी विविध महत्व र कारणले मानव जीवनसँगै सम्पूर्ण चराचर जगतका लागि बरपिपल समी रोपणसँगै संरक्षण संवद्र्धन जरुरी रहेको पण्डित पराजुलीको भनाई छ ।
अहिले आएर सुन्दरता र हरियाली बचाउका नाममा अशोकालगाएत बिभिन्न प्रजातिका बिरुवा लगाउने गरेका देखिन्छन् । यसले पनि राम्रै भएको देखिन्छ तर त्यो भन्दा हाम्रै वरिपरी प्राप्त हुने र धार्मिक एवम् वैज्ञानिक कारणले पनि मानव जीवनसँग सरोकार राख्ने बोट बिरुवा लगाउनु उत्तम हुन्छ, पराजुलीले भन्नुभयो । हामीले अहिले आएर उन्नत जातका बरपिपल र समीका बिरुवा पनि पाउन सकिन्छ । यसबाट सुन्दरतासँगै विविध लाभ लिन सकिन्छ । त्यसो त रैथाने बरपिपललाई पनि छटनी गरेर नयाँ आकार दिएर सुन्दर बनाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय देशले हरियालीसँगै उत्पादनलाई जोड दिइएको पाइन्छ । जस्तैः दुवइमा खजुरको बोटलाई विस्तार गरेको देखिन्छ । यसबाट हरियालीको सुन्दरतासँगै फलबाट आम्दानी लिने गरिन्छ । हामीले पनि यस्तै खोज र अनुसन्धान गर्न सक्छौं, ताकि दोहोरो फाइदा लिन सकियोस् ।”
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर