pokhara news

हामीले देशका लागि राजनीति गर्ने हो—पूर्व मन्त्री गुरुङ

चैत २३, वालिङ ।
नेपाल सरकारका पूर्व मन्त्री माननीय धनराज गुरुङले हामीले देशका लागि राजनीति गर्ने बताउनु भएको छ । स्याङ्जाको वालिङ १३ खानीडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रममा सम्वोधन गर्दै पूर्वमन्त्री गुरुङले हामीले आफ्ना लागि होइन, देश र जनताका लागि भनेर राजनीति गर्नुपर्ने बताउनु भएको हो । 
विकासकाम कामहरुमा हामीले गरेको भन्दा पनि मैले गरेको भन्ने र एक अर्कालाई देखिनसहने प्रवृत्ति त्याग्नुपर्ने पूर्वमन्त्री गुरुङले औंल्याउनुभयो । यसरी व्यक्ति केन्द्रित भएर राजनीति गर्नु गलत भएको र यसले निरासा पैदा गराएको उहाँले उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,“हामीले आँफूलाई केन्द्रमा राखेर कुराकानी गर्छौं त्यही गलत भयो । जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अझ मजवुत भएर कतै नहल्लिने गरी अगाडि बढ्नुपर्ने ठाउँमा हल्लिन्छ कि भनेर कौतुहलता जन्मिन थालेको छ, यो सबै हाम्रा कारणले भएको हो । गणतन्त्रवादी दलहरु एक अर्कालाई देखि नसहने, कटाक्ष गर्नुपर्ने, विकासका कामहरुमा हामी भन्दा पनि मैले गरेको जस्ता अभिव्यक्ति दिनु गल्ती गरेका छौं । जसले निरासा पैदा गराएको हो ।”
कहिँ बाटो भत्क्यो भने अर्कोले वा फलानाले गर्दा भएको र त्यसले किन नगर्ने भनेर दोष तेस्र्याउने अनि अर्को पार्टीको नेतालाई गाली गर्ने प्रवृत्ति रह्यो । यही प्रवृत्तिले गर्दा आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रतिगामीहरुले अलिकता छड्के नजर लगाउने कोशिस गरेको पूर्वमन्त्री गुरुङले बताउनुभयो ।
हाम्रो साझा सत्रु भनेको गरिवी, अशिक्षा, भ्रष्टाचार, अविकास र वेरोजगारी भन्ने कुरालाई केन्द्रमा राखेर हामी अगाडि बढेका हुन्थ्यौं भने प्रतिगामीहरुले यति छिटै कर्के नजर लाउने थिएन । गाउँ ठाउँको विकास निर्माणको कुरा गर्दा हामी एउटै डुङ्गामा छौं, त्यसैले गाउँ ठाउँ बनाउने हाम्रो लक्ष्य एउटै हो भनेर लाग्नुपर्ने आजको आवश्यकता भएको उहाँले व्यक्त गर्नुभयो । निर्वाचित भैसकेपछि हामी जनप्रतिनिधी हौं, कुनै पार्टी विशेषको मात्र होइनौं । लोकतान्त्रिक गणतन्त्रवादी सबै मिलेर अगाडि बढौं, कसले के भन्यो त्यसको पछाडि लाग्न आवश्यक छैन आफ्नो लक्ष्यमा लागौं, कसैले केही गर्न सक्दैन पूर्वमन्त्री गुरुङले भन्नुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर