pokhara news

हिजो रातीदेखि देशभर सेना परिचालन भयो, अवस्था सामान्य बन्दै

                                                      तस्बिर : सामाजिक सञ्जाल
काठमाडौ, २५ भदौ– हिजो राती १० बजेदेखि देशभर नेपाली सेना परिचालन भएको छ । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको हो । 
शान्ति सुरक्षा कायम गर्न र नेपाली नागरिकको रक्षाका लागि खटिएको सेनाले विज्ञप्ति निकालेर जानकारी गराएको छ । सेना परिचालन भएसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएको समाचारहरु आउन थालेका छन् । काठमाडौ उपत्यकासहित देशभरको अवस्था सामान्य बन्दै गएको नेपाली सेनाले जनाएको छ ।
सुरक्षाको दृष्टिले सम्वेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ । लुटपाट र आगजनी गर्नेहरु पक्राउ परेका छन् । काठमाडौको बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ परेका छन् । सेनाले अराजक गतिबिधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।
यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानूनी शासन स्थापित गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।
यस्तै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गर्नुभएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उहाँले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गर्नुभएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर