pokhara news

“सोसल मिडियाको आरोप फितलो: प्रमाण नपुगेपछि खनालको सार्वजनिक माफी”

वालिङ नगरपालिकाको शिक्षा क्षेत्रमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा गम्भीर आरोप लगाउने शिक्षक अमृत खनाल अन्ततः आफ्नो अभिव्यक्तिबाट पछि हट्दै सार्वजनिक रूपमा माफी माग्नुभएको छ।

गत चैत ७ गते सामाजिक सञ्जालमार्फत १० बुँदे आरोप सार्वजनिक गर्दै खनालले शिक्षक सरुवा, बढुवा तथा समायोजन प्रक्रियामा आर्थिक अनियमितता भएको दाबी गर्नुभएको थियो। उक्त पोस्ट सार्वजनिक भएसँगै वालिङको शिक्षा क्षेत्रमा व्यापक बहस र चासो बढेको थियो।

तर सोमबार वालिङ नगरपालिकामा आयोजित शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त छलफलमा खनालले आफ्नो आरोप पुष्टि गर्न कुनै ठोस प्रमाण पेश गर्न नसकेपछि माफी माग्नुभएको हो।

उहाँले बाह्य गुनासोका आधारमा हतारमा सामाजिक सञ्जालमा विषय उठाएको स्वीकार गर्दै आगामी दिनमा यस्ता विषय सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलमा आरोपित विद्यालयका शिक्षकहरूले आफूहरू निर्दोष रहेको दाबी गर्दै प्रमाण भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका थिए।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी प्रसाद रेग्मीले बिना प्रमाण आरोप लगाउने प्रवृत्तिले शिक्षकहरूको चरित्र हत्या हुने भन्दै आपत्ति जनाउनुभयो।
“प्रमाण भए म शिक्षा क्षेत्र नै छोड्न तयार छु, तर आधारहीन आरोप लगाउनेलाई कारबाही हुनुपर्छ,” उहाँले बताउनुभयो।

त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता याम बहादुर कुँवरले भावनामा बहकिएर सामाजिक सञ्जालमा यस्ता विषय सार्वजनिक गर्नु अनुचित भएको धारणा राख्नुभयो।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले यस्ता गतिविधिले नगरपालिकाको छवि नै प्रभावित हुने भन्दै जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गर्नुभयो।

खनालको पोस्टले स्याङ्जा जिल्लाभर शिक्षा क्षेत्रलाई तरंगित बनाएको भए पनि सार्वजनिक माफीसँगै विवाद साम्य हुने अपेक्षा गरिएको छ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर